मानवसेवा आश्रममा डीएसपी चक्र मल्लको मानवीय साथ : भोजन सेवामा सहयोग, निरन्तर सहकार्य गर्ने प्रतिबद्धता

 

वीरगंज, ७ साउन

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र मल्लले वीरगंज महानगरपालिका–२५ सिर्सियास्थित मानवसेवा आश्रम (सिर्सिया शाखा) को अवलोकन गर्दै आश्रममा आश्रित व्यक्तिहरूका लागि बेलुकाको भोजन सेवामा सहयोग गर्नुभएको छ। साथै उहाँले आगामी दिनमा पनि आश्रमसँग आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मानवसेवा आश्रमका अनुसार डीएसपी मल्लले आश्रमको निरीक्षण गर्दै त्यहाँ सञ्चालन भइरहेका उद्धार, संरक्षण, उपचार तथा पुनःस्थापनासम्बन्धी गतिविधिबारे जानकारी लिनुभएको थियो। उहाँले सडक आश्रित, असहाय, बेवारिसे तथा परिवारबाट विच्छेद भएका नागरिकहरूको संरक्षण र सम्मानजनक जीवनयापनका लागि आश्रमले निर्वाह गरिरहेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

अवलोकनका क्रममा डीएसपी मल्लले आश्रममा आश्रित व्यक्तिहरूसँग आत्मीय भेटघाट गर्दै उनीहरूको अवस्था बुझ्नुभएको थियो। त्यसपछि उहाँ बेलुकाको भोजन सेवामा सहभागी भई आश्रमका सेवाग्राहीहरूलाई भोजन वितरणमा सहयोग गर्नुभएको थियो। उहाँले यस्ता मानवीय कार्यमा समाजका सबै क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सामूहिक सहकार्यबाट सामाजिक सेवाका अभियानहरू अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।

डीएसपी मल्लले आगामी दिनमा जिल्ला प्रहरी कार्यालय पर्साको तर्फबाट मानवसेवा आश्रमलाई आवश्यक सहयोग, समन्वय तथा सहकार्यका लागि आफू सदैव सकारात्मक रहने प्रतिबद्धता व्यक्त गर्नुभएको मानवसेवा आश्रमले जनाएको छ।

आश्रमले डीएसपी मल्लले देखाउनुभएको आत्मीयता, सद्भाव र भोजन सेवामा पुर्‍याउनुभएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता सामाजिक तथा मानवीय सहकार्यले सेवाको अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

समाजका असहाय, बेवारिसे तथा सडक आश्रित नागरिकहरूको उद्धार, संरक्षण, उपचार, पुनःस्थापना तथा सम्मानजनक जीवनयापनका लागि मानवसेवा आश्रमले निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ। कार्यक्रममा मानवसेवा आश्रमका देवेश गुप्ता, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, समाजसेवी ओम झा, प्रद्युमन सर्राफलगायतको विशेष उपस्थिति रहेको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित