वीरगंज/२ साउन
वीरगंजको विद्युत आपूर्तिको प्रमुख विकल्पका रूपमा रहेको छपकैया ३३ केभी अन्डरग्राउन्ड केबलमा आएको प्राविधिक खराबी (फल्ट) तीन दिन र तीन रातको निरन्तर प्रयासपछि पत्ता लागी समाधानको चरणमा पुगेको छ। यससँगै वीरगञ्जमा विद्युत आपूर्ति थप भरपर्दो हुने आधार तयार भएको नेपाल विद्युत प्राधिकरण, वीरगंज वितरण केन्द्रले जनाएको छ।
प्राधिकरणका अनुसार केबलमा समस्या देखिनेबित्तिकै उच्च व्यवस्थापनको समन्वयमा फल्ट लोकेटर मेगर टेस्टिङ भ्यान रातारात वीरगंज ल्याई परीक्षण सुरु गरिएको थियो। रातभरको प्रयासका बाबजुद प्रारम्भिक परीक्षणबाट फल्टको यकिन स्थान पत्ता लाग्न नसक्दा छपकैया सबस्टेसनअन्तर्गत सञ्चालित अस्पताल, विर्तामाई, नगवा, छपकैया र बलिरामपुर फिडरमध्ये बलिरामपुर, छपकैया तथा नगवा फिडरको विद्युत आपूर्ति प्रभावित भएको थियो।
विद्युत सेवा सकेसम्म नियमित राख्न प्राधिकरणले अर्को दिनदेखि नै प्रभावित सबै क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत आपूर्तिको व्यवस्था मिलाएको जनाएको छ।
लगातार तीन दिन र तीन रातको प्राविधिक खोजीपछि नगवा पोखरी नजिक अन्डरग्राउन्ड केबलमा रहेको खराबीको स्थान पहिचान गरिएको प्राधिकरणले जनाएको छ। उक्त स्थानमा निर्माणाधीन पसौंनी–छपकैया ३३ केभी ओभरहेड लाइन सम्पन्न भइसकेकाले पुरानो लाइन नकटाई नै मर्मत कार्य अघि बढाउन सहज भएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका अनुसार निरन्तर वर्षा, केही स्थानीयको अवरोध तथा अन्य चुनौतीपूर्ण परिस्थितिका बीच पनि नेपाल विद्युत प्राधिकरण, वीरगंज वितरण केन्द्रका कर्मचारी, प्राविधिक टोली तथा निर्माण व्यवसायी दिनरात खटिएका थिए। उनीहरूको अथक प्रयासबाट निर्माणाधीन पसौंनी–छपकैया ३३ केभी ओभरहेड लाइन केवल दुई दिनमै निर्माण सम्पन्न गरी सफलतापूर्वक चार्ज गरिएको छ।
वीरगंज वितरण केन्द्रले कठिन परिस्थितिमा धैर्य र सहयोग प्रदान गर्ने स्थानीय उपभोक्ता, स्थानीय प्रशासन, सञ्चारकर्मी, निर्माण व्यवसायी तथा प्राधिकरणका उच्च व्यवस्थापनप्रति हार्दिक आभार व्यक्त गरेको छ।
प्राधिकरणले नयाँ ३३ केभी ओभरहेड लाइन सञ्चालनमा आएसँगै भविष्यमा वीरगंजवासीले अझ भरपर्दो, गुणस्तरीय र नियमित विद्युत सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ। साथै, यस उपलब्धिलाई वीरगञ्जको विद्युत पूर्वाधार सुदृढीकरणतर्फको महत्त्वपूर्ण कोशेढुंगा (माइलस्टोन) का रूपमा उल्लेख गरेको छ।









