माहेर ममता निवास उद्घाटनमा भारत–नेपालको सांस्कृतिक आत्मीयता झल्कियो 

 

रक्सौल। माहेर ममता निवासको नवनिर्मित भवन उद्घाटन समारोह सेवा, संस्कार र मानवीय संवेदनासँगै भारत–नेपालबीचको साझा सांस्कृतिक आत्मीयताको अनुपम उदाहरणका रूपमा सम्पन्न भएको छ।

समारोहमा विशिष्ट अतिथिका रूपमा सहभागी लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीकी अध्यक्ष तथा समाजसेवी लायन पिया सिंह र संयुक्त सचिव तथा समाजसेवी लायन प्रसिद्धि आनन्द सिंहले नेपाली परम्पराअनुसार माहेर ममता निवास, रक्सौलकी संस्थापक निर्देशक सिस्टर लुसी कुरियन, अध्यक्ष डा. प्रदीप शर्मा, सचिव डा. निकोला पवार, सदस्यहरू हिराबेगम मुल्ला, अनिरुद्ध गडनकुश, मर्सी मेन्डोन्का, सुश्री सिन्डिथ क्युस्टरलगायत उपस्थित अतिथिहरूलाई खादा (अंगवस्त्र) ओढाई तथा ढाका टोपी लगाई सम्मान गरेका थिए।

नेपाली संस्कृतिमा खादा श्रद्धा, सम्मान, पवित्रता र सद्भावको प्रतीक मानिन्छ भने ढाका टोपी राष्ट्रिय गौरव, सांस्कृतिक पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा परिचित छ। अतिथिहरूको परम्परागत शैलीमा गरिएको सम्मानले समारोहस्थल तालीको गडगडाहटले गुन्जिएको थियो भने सम्पूर्ण वातावरण सांस्कृतिक उल्लास र आत्मीयताले भरिएको थियो।

सम्मानबाट भावविभोर बनेकी सिस्टर लुसी कुरियन तथा जर्मनीबाट आएका अतिथिहरूले लायन पिया सिंह र लायन प्रसिद्धि आनन्द सिंहप्रति कृतज्ञता व्यक्त गरेका थिए। त्यसपछि सिस्टर लुसी कुरियनले पनि दुवै पदाधिकारीलाई अंगवस्त्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरेकी थिइन्। संस्थाका केयरटेकर वीरेन्द्र कुमारले समेत नेपालबाट आएका प्रतिनिधिमण्डलप्रति आभार व्यक्त गरेका थिए।

यस अवसरमा भारत विकास परिषद्, रक्सौल शाखाका अध्यक्ष रजनीश प्रियदर्शी तथा सेवा संयोजक एवं सञ्चार प्रभारी बिमल कुमार सर्राफले लायन पिया सिंह र लायन प्रसिद्धि आनन्द सिंहको पहलको प्रशंसा गर्दै नेपाली संस्कृति र परम्पराअनुसार गरिएको सम्मान भारत–नेपालबीचको अटुट सांस्कृतिक सम्बन्ध, आत्मीयता र पारस्परिक सम्मानको प्रेरणादायी उदाहरण भएको बताए।

उहाँहरूले सेवा, समर्पण र मानवताप्रति समर्पित माहेर ममता निवासको उद्घाटन समारोहमा देखिएको सांस्कृतिक सद्भाव र आत्मीयताले सहभागी सबैका मनमा अविस्मरणीय छाप छोडेको उल्लेख गरे।

उक्त जानकारी भारत विकास परिषद्, रक्सौल शाखाका सेवा संयोजक एवं सञ्चार प्रभारी तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२–ईका जोनल चेयरपर्सन सह डिस्ट्रिक्ट चेयरपर्सन बिमल कुमार सर्राफले दिएका हुन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित