हरिकिशोर शर्मा / असार २०, जिराभवानी(पर्सा।
असार महिनाको तेस्रो सातासम्म पनि पर्याप्त वर्षा नहुँदा पर्सा जिल्लाका अधिकांश किसानले वर्षे धानको रोपाइँ गर्न सकेका छैनन्। किसानका अनुसार बेर्नामा राखिएको धानको बिरुवा २२–२५ दिनमै रोप्न तयार हुने भए पनि एक महिनाभन्दा बढी समय बितिसक्दा पनि पानी नपरेकाले रोपाइँ रोकिएको हो।
ढिलाइका कारण बेर्नामा रहेका धानका बिरुवा छिपिन थालेका छन्। जिराभवानी गाउँपालिका–१ भवानीपुरका किसान सत्देव महतो थारुका अनुसार गण्डक नहरभन्दा उत्तरी थरुवान क्षेत्रमा आकाशे पानीसँगै अन्य सिँचाइका केही स्रोत उपलब्ध भएकाले सीमित क्षेत्रफलमा मात्र रोपाइँ भएको छ। बाँध, कुलो तथा भूमिगत सिँचाइको प्रयोग गरेर केही किसानले रोपाइँ गरे पनि अधिकांश खेत अझै बाँझै छन्।
विद्युतबाट चल्ने भूमिगत सिँचाइ प्रयोग गर्ने किसानको खर्च अपेक्षाकृत कम भए पनि डिजेलबाट चल्ने पम्प (दमकल) प्रयोग गर्नुपर्ने किसानलाई ठूलो आर्थिक भार परेको छ। सेढवाका किसान प्रभु महतोका अनुसार लामो । वर्षा नहुँदा जमिन अत्यधिक सुख्खा भएकाले धेरै पानी आवश्यक परेको र सिँचाइ खर्च उल्लेखनीय रूपमा बढेको छ।
उनका अनुसार पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण एक बिघा खेतमा रोपाइँ गर्न मात्रै ४ हजारदेखि ६ हजार रुपैयाँसम्म डिजेल खर्च भइरहेको छ। रोपाइँपछि पनि ५–७ दिनमै पुनः सिँचाइ गर्नुपर्ने अवस्था रहेकाले किसानको लागत अझ बढेको छ।
यता, ठोरी गाउँपालिका–५ का किसान पलाद यादवका अनुसार वर्षा अभावका कारण त्यस क्षेत्रमा ५ प्रतिशत पनि धान रोपाइँ हुन सकेको छैन। भूमिगत सिँचाइको सुविधा नहुँदा किसान पूर्ण रूपमा वर्षामै निर्भर छन्।
गण्डक नहरमा सिँचाइका लागि तीन–चार दिनअघि मात्रै पानी आएपछि अहिले केही किसानले रोपाइँ सुरु गरेका भए पनि अधिकांश क्षेत्र अझै रोपाइँविहीन रहेको उनले बताए।
वर्षा अभावका कारण यस वर्ष पर्साका किसान समयमै धान रोप्न नपाउँदा उत्पादनमा समेत नकारात्मक असर पर्ने चिन्ता व्यक्त गरेका छन्।









