हरिकिशोर शर्मा / असार १९ जिराभवानी पर्सा
मधेश प्रदेशकै पहिलो पर्यटकीय क्षेत्रका रूपमा परिचित पर्साको ठोरीमा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनको नेपाल प्रवेशमा शुक्रबारदेखि अचानक रोक लगाएसँगै यहाँको पर्यटन, व्यापार तथा स्थानीय जनजीवनमा गम्भीर असर परेको छ। सीमा सुरक्षा बल (बीओपी) ठोरीले जिल्ला कमाण्डको निर्देशन भन्दै भन्सार प्रक्रिया पूरा नगरी नेपाल प्रवेश गर्न खोजेका भारतीय सवारीसाधनलाई सीमाबाटै फिर्ता पठाउन थालेपछि नेपाल भ्रमणको उत्साह बोकेर आएका भारतीय पर्यटकहरू निराश हुँदै भारतको भिखना ठोरीबाटै फर्किन बाध्य भएका हुन्।
वर्षौंदेखि ठोरी नाका भारतीय पर्यटकका लागि सहज प्रवेशद्वारका रूपमा परिचित रहँदै आएको थियो। दैनिक सयौँको संख्यामा भारतीय पर्यटक यही नाकाबाट नेपाल प्रवेश गरी ठोरीको प्राकृतिक सौन्दर्य, धार्मिक स्थल, वन्यजन्तु, ग्रामीण पर्यटन तथा विभिन्न पर्यटकीय गन्तव्यको अवलोकन गर्दै स्थानीय होटल, रेष्टुरेन्ट, पसल तथा यातायात व्यवसायलाई चलायमान बनाउँदै आएका थिए। तर शुक्रबार बिहानैदेखि देखिएको यो अवस्थाले पर्यटन व्यवसायी मात्र होइन, स्थानीय सर्वसाधारणसमेत चिन्तित बनेका छन्।
विडम्बना, ठोरीमा नेपाल सरकारको अमृतछोटी भन्सार कार्यालयको भवन आज पनि उभिएको छ, तर सेवा भने बन्द छ। कार्यालयको संरचना भएर पनि सेवा सञ्चालन नहुँदा राज्यको उपस्थितिमाथि नै प्रश्न उठ्न थालेको छ। स्थानीयका अनुसार गत वर्षदेखि भन्सार कार्यालय बन्द भएपछि भारतीय सवारीसाधनको वैधानिक प्रवेशको व्यवस्था नै ठप्प बनेको हो। परिणामस्वरूप सीमा क्षेत्रमा अन्योल सिर्जना भएको छ भने यसको प्रत्यक्ष मार पर्यटन र स्थानीय अर्थतन्त्रले खेप्नुपरेको छ।
स्थानीयवासी बताउँछन्—यदि ठोरीमै भन्सार सेवा सञ्चालनमा रहेको भए भारतीय पर्यटकले सहज रूपमा राजस्व तिरेर नेपाल प्रवेश गर्न सक्ने थिए। सरकारलाई राजस्व पनि प्राप्त हुने थियो र पर्यटक पनि फर्किनुपर्ने अवस्था आउने थिएन। तर राज्यको बेवास्ताका कारण अहिले न सरकारले राजस्व पाएको छ, न स्थानीयले पर्यटक, न त पर्यटकले नेपाल भ्रमणको अवसर नै।
भन्सार कार्यालय बन्द भएपछि स्थानीय सरकार, राजनीतिक दल, उद्योगी–व्यवसायी, पर्यटनकर्मी तथा नागरिक समाजले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कुनै ठोस पहल हुन नसकेको उनीहरूको गुनासो छ। जनप्रतिनिधिले विभिन्न मञ्चबाट भन्सार पुनः सञ्चालनको माग उठाए पनि निर्णय कार्यान्वयनमा नआउँदा स्थानीयमा निराशा बढ्दै गएको छ।
भारतीय पर्यटकको आगमनमा आएको कमीले होटल व्यवसाय, रेष्टुरेन्ट, खुद्रा व्यापार, स्थानीय यातायात, कृषि उपजको बिक्री तथा दैनिक मजदुरीसमेत प्रभावित हुन थालेको व्यवसायीहरूको भनाइ छ। पर्यटकको आगमनसँग जोडिएको स्थानीय अर्थतन्त्र अहिले अन्योलमा परेको उनीहरूको निष्कर्ष छ।
स्थानीय बुद्धिजीवीहरू भन्छन्, “ठोरीलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्ने, पर्यटन प्रवर्द्धनका योजना बनाउने तर पर्यटक प्रवेशको आधारभूत व्यवस्था समेत नगर्ने हो भने त्यस्ता घोषणा केवल कागजमै सीमित हुन्छन्।”
सीमावर्ती क्षेत्र भएकाले ठोरी नेपालको पर्यटन विस्तारको महत्वपूर्ण प्रवेशद्वार बन्न सक्ने प्रचुर सम्भावना बोकेको क्षेत्र हो। तर आवश्यक पूर्वाधार र प्रशासनिक संयन्त्र सञ्चालनमा सरकारको उदासीनताले त्यो सम्भावना क्रमशः ओझेलमा पर्दै गएको स्थानीयको गुनासो छ।
स्थानीयवासी तथा पर्यटन व्यवसायीहरूले भन्सार कार्यालय तत्काल पुनः सञ्चालन गरी भारतीय पर्यटकका लागि कानुनी र सहज प्रवेशको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका छन्। उनीहरूको भनाइमा भन्सार कार्यालय सञ्चालन हुनु केवल प्रशासनिक आवश्यकता मात्र होइन, ठोरीको पर्यटन, व्यापार, रोजगारी र समग्र आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय हो।
सीमाबाट पर्यटक फर्किरहेको दृश्यले अहिले एउटा गम्भीर प्रश्न उठाएको छ—राज्यले आखिर ठोरीको सम्भावनालाई कहिलेसम्म बेवास्ता गर्ने? स्थानीयको अपेक्षा स्पष्ट छ—घोषणाभन्दा काम होस्, आश्वासनभन्दा कार्यान्वयन होस्, र ठोरीको पर्यटन तथा अर्थतन्त्रलाई जोगाउन भन्सार कार्यालय तत्काल पुनः सञ्चालन गरियोस्।









