काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शनिबार बिहान ९:०० बजेसम्म कोषको खातामा रु १३ अर्ब ५४ करोड ९ लाख ३ हजार ११७ मौज्दात रहेको छ।
कार्यालयका अनुसार भदौ २६ गते साँझ ५:०० बजेपछि मात्रै कोषमा रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेका खातामा जम्मा भएको जनाइएको छ।
सरकारले यसअघि कोषमा जम्मा भएको रकममध्ये बाढीपीडितको राहत तथा उद्धारका लागि रु १ अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत निकासा गरिसकेको छ।
यसैगरी, कोषका दुई वटा बैंकमा रहेका अमेरिकी डलर खातामा पनि सहयोग रकम थपिने क्रम जारी रहेको कार्यालयले जनाएको छ। भदौ २६ गते साँझ ५:०० बजेपछि मात्रै ती खातामा १ लाख ५४ हजार ७७० अमेरिकी डलर थपिएको छ।
यससँगै कोषका दुई वटा डलर खातामा रहेको कुल रकम २ करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रयोग हुने कोषमा विभिन्न व्यक्ति, संस्था तथा निकायबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ।









