अक्षयकोषको ब्याजबाट सुनाखरी उपभोक्ता समितिद्वारा ६० विद्यार्थीलाई हाउस ड्रेस वितरण

 

हरिकिशोर शर्मा / असार १९ जिराभवानी पर्सा ।

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत रहेको सुनाखरी उपभोक्ता समिति, सुवर्णपुरले सामुदायिक विद्यालयका विद्यार्थीको शिक्षालाई सहयोग गर्ने उद्देश्यले ६० जना विद्यार्थीलाई छात्रवृत्ति स्वरूप हाउस ड्रेस वितरण गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रममा शान्ति प्रावि चमरीटोलमा अध्ययनरत ६० जना विद्यार्थीलाई हाउस ड्रेस वितरण गरेको सो समितिका सचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) सौराहा, चितवनको सहयोग तथा सुवर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुवर्णपुर सँगको सहकार्यमा स्थापना गरिएको “अक्षयकोष” को ब्याज रकमबाट हाउस ड्रेस वितरण गरिएको हो।

कार्यक्रम सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर पाख्रीनको सभापतित्व तथा ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो अवसरमा जीराभवानी गाउँपालिका–१ का वडाध्यक्ष रामशरण खवास, सुवर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुन लामा, शान्ति प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जय यादव तथा ज्ञानवाटिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र नेवार लगायतको पनि आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले शिक्षामा लगानी नै समाजको भविष्यमा लगानी भएको उल्लेख गर्दै यस्ता सहयोगले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई विद्यालयमा नियमित अध्ययन गर्न थप हौसला मिल्ने बताए। उनीहरूले संरक्षणसँगै शिक्षा, सामाजिक उत्तरदायित्व र सामुदायिक विकासलाई जोड्ने यस्ता कार्यक्रम उदाहरणीय रहेको धारणा व्यक्त

समितिका सचिव श्रेष्ठका अनुसार अक्षयकोषको मूल रकम सुरक्षित राखी त्यसबाट प्राप्त हुने ब्याजलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा खर्च गर्ने उद्देश्यअनुसार हाउस ड्रेस वितरण गरिएको हो। यस अभियानले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै अभिभावकमाथिको आर्थिक भार पनि केही हदसम्म कम हुने विश्वास लिइएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित