रक्सौल, असार १३।
भारत विकास परिषद्, रक्सौलले आफ्ना संस्थापक तथा प्रथम राष्ट्रिय महासचिव डा. सुरज प्रकाशको १०६औँ जन्मजयन्ती श्रद्धा र सम्मानका साथ मनाएको छ।
शनिबार कोइरिया टोलास्थित सूर्य नारायण परिसरमा शाखा अध्यक्ष रजनीश प्रियदर्शीको अध्यक्षतामा आयोजित कार्यक्रममा दीप प्रज्वलन, वन्दे मातरमको पाठ, डा. सुरज प्रकाशको तस्बिरमा पुष्पाञ्जली तथा केक काटेर जन्मजयन्ती मनाइएको थियो।
कार्यक्रममा अध्यक्ष प्रियदर्शीले डा. सुरज प्रकाशको जीवन राष्ट्रसेवा, मानवता र समर्पणको उत्कृष्ट उदाहरण भएको बताउँदै उहाँका आदर्शले परिषद्का सदस्यलाई सेवामूलक कार्यमा प्रेरित गरिरहेको उल्लेख गरे।
कोषाध्यक्ष सुनिल कुमार तथा सेवा संयोजक एवं मिडिया इन्चार्ज विमल कुमार सर्राफले भारत विकास परिषद् सेवा, संस्कार, सहयोग र समर्पणको अभियानका रूपमा देशभर सक्रिय रहेको बताए। वक्ताहरूले परिषद्को स्थापना, विकास यात्रा तथा डा. सुरज प्रकाशले भारत विभाजनका बेला पुर्याएको मानवीय योगदानबारे पनि चर्चा गरेका थिए।
समारोहमा सम्पर्क संयोजक उमेश सिकारिया, संस्कृति संयोजक नितेश कुमार सिंह, वातावरण संयोजक विजय कुमार साह, अजय कुमारलगायतले डा. सुरज प्रकाशको आदर्शलाई आत्मसात् गर्दै समाज सेवामा लाग्न आग्रह गरे।
राष्ट्रिय गानसँगै सम्पन्न कार्यक्रममा परिषद्का पदाधिकारी, महिला सहभागिता प्रमुख मेनका गुप्तासहित ठूलो संख्यामा शाखा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमबारे जानकारी सम्पर्क संयोजक उमेश सिकारिया र सेवा संयोजक सह–मिडिया इन्चार्ज विमल कुमार सर्राफले दिएका थिए।









