कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको निर्देशनपछि वीरगंजका बजार क्षेत्रमा सरसफाइ अभियान तीव्र

 

वीरगंज, असार १२ गते।

वीरगंज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देशनपछि महानगरका विभिन्न बजार क्षेत्रमा फोहोर उठाउने तथा जाम भएका नालाहरू सफा गर्ने कार्यलाई तीव्रता दिइएको छ।

महानगरको प्रमुख व्यापारिक केन्द्र मानिने अलखियामठ, आदर्शनगरलगायतका बजार क्षेत्रमा केही समयदेखि फोहोरको थुप्रो र नाला जामका कारण स्थानीयवासी तथा व्यवसायीले सास्ती खेप्दै आएका थिए। जनगुनासो बढेपछि कार्यवाहक नगरप्रमुख आलमले महानगरपालिकाको सरसफाइ शाखा तथा प्राविधिक टोलीलाई तत्काल परिचालन गर्न निर्देशन दिनुभएको हो।

निर्देशनलगत्तै महानगरपालिकाको सरसफाइ टोली आवश्यक उपकरण तथा सवारीसाधनसहित प्रभावित क्षेत्रमा खटिएको छ। सडक तथा गल्लीहरूमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गर्ने काम भइरहेको छ भने सवारी आवागमन र पैदलयात्रीलाई असहज नहुने गरी सरसफाइ अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ।

यसैबीच, वर्षायाममा पानी जम्ने समस्यालाई ध्यानमा राख्दै बजार क्षेत्रका जाम भएका नालाहरू सफा गर्ने, थुनिएको पानीको निकास खोल्ने तथा ढल प्रणालीलाई सहज बनाउने कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ।

कार्यवाहक नगरप्रमुख आलमको सक्रिय पहलपछि बजार क्षेत्रको सरसफाइमा सुधार देखिन थालेको भन्दै स्थानीय व्यवसायी तथा सर्वसाधारणले महानगरपालिकाको कदमको स्वागत गरेका छन्।

महानगरपालिकाले बजार क्षेत्रलाई स्वच्छ, सुन्दर र दुर्गन्धमुक्त बनाउने अभियानलाई निरन्तरता दिइने जनाएको छ। साथै, फोहोर जथाभाबी नफाल्न, नालामा अवरोध पुग्ने गरी सामग्री नराख्न तथा सरसफाइ अभियानमा सहयोग गर्न सम्पूर्ण नगरवासीसँग अपिल गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित