सातौँ भन्सार सुधार योजना प्रभावकारी कार्यान्वयनमा जोड, सेवा सहजीकरण र डिजिटल प्रणाली विस्तारको माग

 

वीरगंज/०७ असार

वीरगंज स्थित आइसिपीको कार्यालयमा आयोजित “सातौँ भन्सार सुधार तथा आधुनिकीकरण रणनीतिक कार्ययोजना (CRMP)” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले भन्सार सेवालाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउन आवश्यक सुधारका विषयमा जोड दिएका छन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानीले भन्सारको भूमिका केवल वस्तुको जाँचपासमा सीमित नभई यात्रु आवागमन (प्यासेन्जर मुभमेन्ट) लाई समेत सहज र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए। उनले हालसम्म यात्रु व्यवस्थापन र सहजीकरणको पक्ष अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उल्लेख गरे।

टेमानीले व्यवसायीहरूको गुनासो सुनुवाइ तथा समस्या समाधानका लागि द्रुत र प्रभावकारी संयन्त्र आवश्यक रहेको बताउँदै भने, “व्यवसायीका समस्या सुन्ने र त्यसको शीघ्र समाधान गर्ने प्रणाली विकास नभएसम्म व्यापार सहजीकरणको लक्ष्य पूर्ण रूपमा हासिल हुन सक्दैन।”

उनले देशका धेरै सीमा नाकाहरूमा अझै पनि साना भन्सार कार्यालयको अभाव रहेको उल्लेख गर्दै त्यस्ता क्षेत्रमा ‘मोबाइल भन्सार सेवा’ सञ्चालन गर्न सुझाव दिए। भन्सार सेवा प्रदान गर्ने सवारीसाधनमै इन्टरनेट सुविधा राखी आवश्यक प्रज्ञापन तथा भन्सार प्रक्रिया तत्कालै सम्पन्न गर्न सकिने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

अन्तरक्रियामा भन्सार सुधारको विकासक्रम, सातौँ CRMP को आवश्यकता, योजना तर्जुमा प्रक्रिया, रणनीतिक संरचना, रूपान्तरणका क्षेत्र, कार्ययोजनाको संरचना, कार्यान्वयन तथा अनुगमन प्रणाली र लागत अनुमानलगायत विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा वीरगंज भन्सार कार्यालयका प्रमुख, मोहन क्षेत्री (सशस्त्र प्रहरी बल नम्बर १३ गणका गणपति), भन्सारका डीएसपी विकास अधिकारी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, संघका पूर्व अध्यक्ष तथा वरिष्ठ उद्योगपति अशोक वैद्य लगायत विभिन्न सरकारी निकाय, निजी क्षेत्र, भन्सार एजेन्ट तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले भन्सार प्रशासनलाई आधुनिक प्रविधिमैत्री, व्यवसायमैत्री तथा सेवाग्राहीमुखी बनाउँदै व्यापार सहजीकरण, राजस्व संकलन र सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सातौँ भन्सार सुधार योजनाको सफल कार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित