पोखरियामा १२औँ अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम सम्पन्न

 

वीरगंज/असार ४ गते – भारतको महावाणिज्य दूतावास, वीरगंजले पोखरिया नगरपालिका र रानीगंज आयुर्वेद अस्पतालको सहकार्यमा पर्साको पोखरियास्थित श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयमा १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग कार्यक्रम आयोजना गरेको छ।

“स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल विषयअन्तर्गत आयोजित कार्यक्रम महावाणिज्य दूतावासद्वारा सञ्चालन गरिएको योग दिवस शृङ्खलाको चौथो कार्यक्रम रहेको जनाइएको छ।

कार्यक्रममा विद्यार्थीसहित ३५० भन्दा बढी योगप्रेमी सहभागी भएका थिए। सहभागीहरूले स्वास्थ्य, सद्भाव र समग्र कल्याणका लागि योगको महत्वबारे जानकारी प्राप्त गर्नुका साथै सामूहिक योग अभ्यासमा सहभागी भएका थिए। विशेषगरी विद्यार्थीहरूलाई सानै उमेरदेखि योगका लाभबारे सचेत गराई शारीरिक, मानसिक तथा बौद्धिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल रहेका थिए। त्यसैगरी पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न प्रसाद चौहान, उपप्रमुख तथा पूर्व नगरप्रमुख विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्य दूत देवी सहाय मीनाले स्वस्थ जीवन, सद्भाव र समग्र कल्याणका लागि योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिए। प्रमुख अतिथि पटेल तथा नगरप्रमुख चौहानले विभिन्न स्थानमा योगसम्बन्धी कार्यक्रम सञ्चालन गरी योगको प्रवर्द्धनमा महावाणिज्य दूतावासले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

सामूहिक योग अभ्याससँगै योगलाई दैनिक जीवनमा अपनाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित