वीरगंज। भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण–६ (NFHS-6) ले स्वास्थ्य, पोषण, परिवार नियोजन तथा महिला सशक्तीकरणका विभिन्न सूचकमा भारतले उल्लेखनीय प्रगति हासिल गरेको देखाएको छ।
सन् २०२३–२४ मा सञ्चालन गरिएको उक्त सर्वेक्षणले ७१५ जिल्लाका करिब ६ लाख ७९ हजार परिवारलाई समेटेको थियो। सर्वेक्षणअनुसार गर्भवती महिलाले प्रसूति पूर्व स्वास्थ्य सेवा प्राप्त गर्ने दर ९५.९ प्रतिशत पुगेको छ भने संस्थागत प्रसूति ८८.६ प्रतिशतबाट बढेर ९०.६ प्रतिशत पुगेको छ। कुशल स्वास्थ्यकर्मीको उपस्थितिमा हुने प्रसूतिको दर पनि वृद्धि भएको छ।
परिवार नियोजनतर्फ कुल प्रजनन दर (TFR) २.० मा स्थिर रहेको छ भने गर्भनिरोधक साधनको प्रयोग ६६.७ प्रतिशतबाट बढेर ६९.१ प्रतिशत पुगेको छ। यसले परिवार नियोजन सेवाको पहुँच र प्रयोगमा सुधार आएको संकेत गरेको छ।
बाल स्वास्थ्य क्षेत्रमा पनि सकारात्मक उपलब्धि देखिएको छ। १२ देखि २३ महिनासम्मका बालबालिकामा पूर्ण खोप कवरेज ८३.८ प्रतिशतबाट बढेर ८७.१ प्रतिशत पुगेको छ। रोटाभाइरस तथा दादुरा विरुद्धको खोपको पहुँचमा समेत उल्लेखनीय वृद्धि भएको छ।
बाल पोषणका सूचकहरूमा पनि सुधार देखिएको छ। पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपन ३५.५ प्रतिशतबाट घटेर २९.३ प्रतिशतमा झरेको छ भने अत्यधिक दुब्लोपन ७.७ प्रतिशतबाट ५.२ प्रतिशतमा सीमित भएको छ।
स्वास्थ्य बीमा तथा वित्तीय सुरक्षाको पहुँच विस्तार हुँदै गएको सर्वेक्षणले देखाएको छ। स्वास्थ्य बीमाको पहुँच भएका परिवारको संख्या ४१ प्रतिशतबाट बढेर ६०.२ प्रतिशत पुगेको छ। त्यस्तै, इन्टरनेट प्रयोग गर्ने तथा आफ्नै बैंक खाता सञ्चालन गर्ने महिलाको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ।
सर्वेक्षणका निष्कर्षहरूले मातृ तथा शिशु स्वास्थ्य, पोषण, महिला सशक्तीकरण र आधारभूत स्वास्थ्य सेवामा भारतले निरन्तर प्रगति गरिरहेको देखाएका छन्। यसले दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा भारतको प्रयास प्रभावकारी रहेको पुष्टि गरेको छ।









