भारतीय महावाणिज्य दूतावासद्वारा नारायणी किनारमा योग कार्यक्रम

 

चितवन। भारतीय महावाणिज्य दूतावास, वीरगंजको आयोजनामा चितवनको भरतपुरस्थित नारायणी नदीको किनारमा मंगलबार विशेष योग कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्री बिनु राई माझी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीनाले अध्यक्षता गर्नुभएको थियो।

यस अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग चितवनका प्रमुखलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै नेपाल–भारत मैत्री संघ, पतञ्जलि योग समिति, उद्योग तथा वाणिज्य संघ, आर्ट अफ लिभिङ, भूतपूर्व सैनिक संगठनलगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत देवी सहाय मीनाले योगको शारीरिक, मानसिक तथा आध्यात्मिक महत्वबारे प्रकाश पार्नुभयो। उहाँले योग भारतको प्राचीन सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै आज विश्वव्यापी रूपमा मानव कल्याणको माध्यम बनेको र यसले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो।

प्रमुख अतिथि मन्त्री बिनु राई माझीले योग स्वस्थ जीवनशैलीको आधार भएको बताउँदै तनावमुक्त समाज निर्माण तथा सकारात्मक ऊर्जा प्रवाहका लागि यसको विशेष महत्व रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा योग प्रशिक्षकहरूले सामान्य योग प्रोटोकलअनुसार सामूहिक योगाभ्यास गराएका थिए। नारायणी नदीको रमणीय तटमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूले उत्साहपूर्वक योगाभ्यास गर्दै प्रकृतिसँग नजिक रहेर योगको अनुभव लिएका थिए।

अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को पूर्वसन्ध्यामा आयोजित यस कार्यक्रमले योगप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित