भारतीय महावाणिज्य दूतावासद्वारा वीरगंजमा रक्तदान शिविर

 

वीरगंज  । विश्व रक्तदाता दिवस २०२६ को अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजले रक्तदान शिविर आयोजना गरेको छ। नेपाल–भारत मैत्री संघ (निफा) पर्सा, नेपाल इनोभेटिभ सोसाइटी, नेपाल रेडक्रस सोसाइटी वीरगंज तथा नेपाल यंग इन्टरप्रेन्योर्स फोरम वीरगञ्जको सहकार्यमा दूतावास परिसरमा आइतबार उक्त शिविर सम्पन्न भएको हो।

शिविरमा स्थानीय नागरिक, युवा तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले उत्साहपूर्वक स्वेच्छिक रक्तदान गर्दै मानव जीवन बचाउने अभियानमा योगदान पुर्‍याएका थिए। रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका अवसरमा भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले रक्तदाताहरूसँग भेटघाट गर्दै उनीहरूको योगदानको प्रशंसा गर्नुभयो। उहाँले रक्तदान मानवताको सेवा गर्ने सबैभन्दा पवित्र र प्रभावकारी माध्यममध्ये एक भएको बताउनुभयो।

महावाणिज्यदूत मीनाले भन्नुभयो, “रक्तदानले आवश्यक परेका व्यक्तिलाई नयाँ जीवन प्रदान गर्छ। समाजप्रति समर्पित रक्तदाताहरूको निस्वार्थ योगदान मानव सेवाको उत्कृष्ट उदाहरण हो। यस्ता कार्यले समाजमा सहयोग, सद्भाव र मानवीय मूल्यलाई थप मजबुत बनाउँछ।”

उहाँले सामाजिक संस्थाहरूसँगको सहकार्यमा भारतीय महावाणिज्य दूतावासले समाजसेवा र मानव कल्याणका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको उल्लेख गर्नुभयो। आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।

दूतावासले शिविर सफल बनाउन योगदान पुर्‍याउने सबै रक्तदाता, सहकार्य गर्ने संस्था तथा स्वयंसेवकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै मानवता, स्वास्थ्य र समाज कल्याणका क्षेत्रमा विभिन्न संघ–संस्थासँग सहकार्यलाई अझ सुदृढ बनाउँदै जाने प्रतिबद्धता पनि जनाएको छ।

विश्व रक्तदाता दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमले रक्तदानको महत्वबारे जनचेतना फैलाउनुका साथै समाजमा मानव सेवाको भावनालाई थप प्रोत्साहन दिएको सहभागीहरूले बताएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित