हरिकिशोर शर्मा / जेठ २९ जिराभवानी पर्सा ।
पर्साको जिराभवानी गाउँपालिकालाई एक विशेष कार्यक्रमका बिच ‘साक्षर गाउँपालिका’ घोषणा गरिएको छ। गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले आज (शुक्रबार) आयोजित एक औपचारिक समारोहमा पालिकालाई साक्षर गाउँपालिका घोषणा गर्नुभएको हो।
नेपाल सरकारले तय गरेको साक्षरताका सम्पूर्ण सूचकहरू पूरा गरेसँगै जिराभवानी गाउँपालिकालाई पूर्ण साक्षर घोषणा गरिएको गाउँपालिकाले जनाएको छ।
घोषणा सभालाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष अनोज चौधरीले पालिकावासीको अथक प्रयास, जनप्रतिनिधि, शिक्षाप्रेमी, कर्मचारी, शिक्षक र सरोकारवालाहरूको सामूहिक योगदानका कारण यो ऐतिहासिक सफलता हासिल भएको बताउनुभयो। उहाँले शिक्षाको विकास विना गाउँपालिकाको समृद्धि सम्भव नरहेकाले आगामी दिनमा शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले थप बजेट र योजनासहित काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
“गाउँपालिकालाई साक्षर घोषणा गर्नु मात्र ठुलो कुरा होइन, यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै आगामी दिनमा शतप्रतिशत नागरिकलाई गुणस्तरीय र प्राविधिक शिक्षाको पहुँचमा पुर्याउनु हाम्रो मुख्य लक्ष्य हुनेछ,” अध्यक्ष चौधरीले भन्नुभयो।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा पालिकाको साक्षरता अभियानमा महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।









