वन गस्ती टोलीमाथि आक्रमण गर्ने आरोपी वीरगंजबाट पक्राउ

 

रौतहट, २४ जेठ — रौतहटमा वन संरक्षणका लागि खटिएको गस्ती टोलीमाथि आक्रमण गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुजरा नगरपालिका–२ मैढा गाउँ निवासी २६ वर्षीय राजकिशोर साह रहेका छन्। उनी रामध्यान साहका छोरा हुन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी बिर्ता, वीरगंजको संयुक्त टोलीले शनिबार साँझ वीरगञ्जमा लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार पक्राउ परेका साहलाई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

सहायक वन अधिकृत राजकुमार चौधरीको जाहेरीका आधारमा राजकिशोर साहसहित संलग्न व्यक्तिहरूविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दामा जिल्ला अदालत रौतहटबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो।

गत जेठ १९ गते राति करिब साढे १२ बजे वन क्षेत्रमा काठ चोरी भइरहेको सूचनाका आधारमा डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त गस्ती टोली घटनास्थल पुगेको थियो। त्यसक्रममा राजकिशोर साहसहितको समूहले गस्ती टोलीमाथि आक्रमण गरेको आरोप छ।

आक्रमणबाट सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र विमल थापा तथा चालक अरविन्द पटेल घाइते भएका थिए।

वन क्षेत्रमा सक्रिय काठ तस्करी नियन्त्रणका लागि खटिएको टोलीमाथि भएको उक्त आक्रमणपछि रौतहटको वन सुरक्षाको अवस्था तथा काठ तस्करी सञ्जालको गतिविधिबारे पुनः प्रश्न उठेको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित