रक्सौल, जेठ २३ — सामाजिक सञ्जालमा आफ्नो फोटो प्रयोग गरी भ्रामक तथा झूटा सूचना प्रसारण गरिएको भन्दै बिमल कुमार सर्राफले आपत्ति जनाएका छन्।
सर्राफले सार्वजनिक सूचना जारी गर्दै आफ्नो जानकारी, सहमति वा अनुमति बिना फोटो प्रयोग गरेर आफूलाई तथाकथित “काँक्रोच पार्टी” को जिल्ला अध्यक्ष नियुक्त गरिएको दाबी गरिएको पोस्ट सामाजिक सञ्जाल तथा विभिन्न प्लेटफर्महरूमा प्रसारण भइरहेको बताएका छन्।
उनले उक्त पोस्टसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै आफूले त्यस्तो कुनै नियुक्तिमा सहमति नदिएको उल्लेख गरेका छन्। अनुमति बिना फोटो प्रयोग गरी भ्रामक सूचना फैलाउने कार्य गैरकानूनी तथा आपत्तिजनक भएको उनको भनाइ छ।
सर्राफले सम्बन्धित व्यक्ति, समूह तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई उक्त पोस्ट तत्काल हटाउन तथा थप प्रसारण नगर्न आग्रह गरेका छन्।
अन्यथा, आफ्नो अधिकारको रक्षा गर्न यस्तो भ्रामक तथा अनधिकृत गतिविधिमा संलग्न व्यक्तिविरुद्ध कानुनी कारबाही अघि बढाउन बाध्य हुने चेतावनी उनले दिएका छन्। यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले नै वहन गर्नुपर्ने उनको भनाइ छ।









