पर्सामा रासायनिक मलको चरम अभाव : धान खेतीको मुखमा किसान मर्कामा,भारतबाट ल्याउन पनि सास्ती

 

हरिकिशोर शर्मा / जेठ २२ जिराभवानी पर्सा ।

धान खेतीको मुख्य सिजन सुरु भएसँगै पर्सा जिल्लामा रासायनिक मलको चरम अभाव देखिएको छ। प्रत्येक वर्षजस्तै यस वर्ष पनि किसानहरूले आवश्यक समयमा डिएपी (म्ब्ए) र युरिया मल नपाउँदा खेतीपाती प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्। विशेषगरी धानको बीउ छर्ने तथा रोपाइँको तयारी गर्ने समयमा आवश्यक पर्ने डिएपी मल बजार तथा सरकारी बिक्री केन्द्रहरूमा नपाएपछि किसानहरू थप समस्यामा परेका छन्।

किसानहरूका अनुसार जेठ महिनाको अन्त्यसम्म आइपुग्दा पनि सरकारी अनुदानको डिएपी मल उपलब्ध नभएको अवस्था छ। खेतीका लागि अत्यावश्यक मानिने मल सहज रूपमा प्राप्त नहुँदा उनीहरू महँगो मूल्यमा भारतबाट मल खरिद गर्न बाध्य भएका छन्। यसले उत्पादन लागत बढाउनुका साथै किसानहरूको आर्थिक बोझसमेत थपिएको छ।

महँगो मूल्यमा भारतीय मल किन्न बाध्य किसान

पर्साको जिराभवानी गाउँपालिका –१, महादेवपटि किसान प्रेम खवास थारुले सरकारी अनुदानको मल समयमै नपाएपछि भारतीय बजारबाट प्रतिकिलो १०० रुपैयाँसम्म तिरेर डिएपी मल खरिद गर्नुपरेको बताए। उनका अनुसार प्रत्येक वर्ष धान खेती सुरु हुने बेलामा मलको अभाव दोहोरिने गरेको छ, तर सम्बन्धित निकायले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सकेका छैनन्।

उनले कृषि सामग्री कम्पनी लिमिटेड तथा स्थानीय निकायहरूको कमजोरीका कारण किसानहरूले सधैं दुःख पाउने गरेको आरोप लगाए। “सरकारले मल आयात गरेको र किसानका लागि पठाएको समाचार त हरेक वर्ष सुनिन्छ, तर वास्तविक खेती गर्ने समयमा किसानले मल पाउँदैनन्,” उनले भने। नयाँ सरकार गठन भएपछि कृषि क्षेत्रमा केही सुधार हुने अपेक्षा गरिएको भए पनि व्यवहारमा कुनै परिवर्तन नदेखिएको उनको गुनासो छ।

सीमावर्ती किसानको अर्को समस्या : भारतबाट मल ल्याउन पनि कठिन

पर्सा भारतसँग सीमा जोडिएको जिल्ला भएकाले यहाँका किसानहरूले विगतमा मल अभाव हुँदा सीमापारिबाट आफ्नो प्रयोगका लागि एक–दुई बोरा मल ल्याएर खेती धान्ने गरेका थिए। तर पछिल्लो समय सीमा नाकामा लागू गरिएको कडाइका कारण त्यो विकल्पसमेत बन्दप्रायः भएको छ।

सरकारले यात्रुले सीमापारबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउन नपाउने व्यवस्थालाई कडाइका साथ लागू गर्न थालेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) तथा नेपालका सशस्त्र प्रहरी बलले निगरानी बढाएका छन्। जसका कारण किसानहरूले व्यक्तिगत प्रयोगका लागि पनि मल ल्याउन नसकेको गुनासो गरेका छन्।

ठोरि गाउँपालिकाका किसान निरबहादुर कार्की अनुसार विगतमा मलको अभाव हुँदा भारतबाट एक–दुई बोरा मल ल्याएर खेती गर्ने गरिएको थियो। तर अहिले सीमा क्षेत्रमा सुरक्षाकर्मीको कडाइ बढेकाले त्यो सम्भव नभएको उनले बताए।

“गाउँमा सरकारी अनुदानको मल आएको भनेर कहिलेकाहीँ मात्र सुनिन्छ, त्यो पनि सबै किसानले पाउन सक्दैनन्। त्यसैले भारतबाट मल ल्याएर खेती गर्दै आएका थियौं। अहिले त्यहाँबाट ल्याउन खोज्दा सुरक्षाकर्मीले रोक्ने, दुःख दिने र कारबाही गर्ने डर छ,” पटेलले भने।

उनका अनुसार मलको सहज आपूर्ति नहुँदा किसानहरू समयमा बीउ छर्न र खेत तयारी गर्न नसक्ने अवस्थामा पुगेका छन्। यसले आगामी धान उत्पादनमा प्रत्यक्ष असर पर्ने सम्भावना बढेको छ।

कृषि सामग्री कम्पनीमा डिएपी मौज्दात शून्य

कृषि सामग्री कम्पनी लिमिटेड प्रदेशीक कार्यालय वीरगञ्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार कम्पनीसँग हाल एक बोरा पनि डिएपी मल मौज्दात छैन। उनले उपलब्ध डिएपी मल पूर्ण रूपमा सकिएको जानकारी दिँदै हाल कम्पनीसँग करिब १४ हजार मेट्रिक टन युरिया मल मात्र रहेको बताए।

उनका अनुसार कम्पनीको बफर स्टक अन्तर्गत करिब ३ हजार मेट्रिक टन डिएपी मल मौज्दात रहेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग मधेश प्रदेशका लागि करिब ६ हजार ३ सय मेट्रिक टन डिएपी मल रहेको छ। तर ती मल तत्काल किसानसम्म पुग्न नसक्दा समस्या समाधान हुन सकेको छैन।

पाण्डेले अन्तर्राष्ट्रिय परिस्थितिका कारण मल आपूर्तिमा समस्या उत्पन्न भएको बताए। विशेषगरी मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मल आपूर्ति प्रणाली प्रभावित भएको र त्यसको असर नेपालमा समेत देखिएको उनको भनाइ छ।

“नेपाल मात्र होइन, छिमेकी भारतमा समेत मल अभाव देखिएको छ। यसले सीमावर्ती क्षेत्रका किसानहरू झनै समस्यामा परेका छन्,” उनले बताए।

चैतयता नयाँ कोटाको मल नआएको खुलासा

कृषि सामग्री कम्पनीका अनुसार चैत महिनापछि नयाँ कोटाको रासायनिक मल नेपाल भित्रिएको छैन। जसका कारण देशभर नै डिएपी मलको अभाव देखिएको हो। कम्पनीले असार २० गतेपछि केन्द्रबाट प्रदेश तथा जिल्लाहरूमा नयाँ मल वितरण सुरु हुने जनाएको छ।

पाण्डेका अनुसार आगामी चरणमा करिब २५ हजार मेट्रिक टन डिएपी मल र ६० हजार मेट्रिक टन युरिया मल नेपाल भित्रिने तयारी भइरहेको छ। उक्त मल समयमै वितरण गर्न सकिए किसानहरूको समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।

उत्पादनमा असर पर्ने चिन्ता

कृषि विज्ञहरूका अनुसार धान खेतीको सुरुआती चरणमा डिएपी मल अत्यन्त आवश्यक मानिन्छ। समयमा मल प्रयोग गर्न नसकिए बिरुवाको वृद्धि, उत्पादन क्षमता तथा समग्र कृषि उत्पादनमा नकारात्मक असर पर्न सक्छ। पर्सालगायत मधेश प्रदेशका जिल्लाहरू धान उत्पादनका दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले मल अभावले खाद्य सुरक्षामा समेत असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

किसान संगठनहरूले सरकारसँग तत्काल पर्याप्त मात्रामा डिएपी तथा युरिया मल उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले हरेक वर्ष दोहोरिने मल अभावको समस्या समाधानका लागि दीर्घकालीन योजना, प्रभावकारी वितरण प्रणाली तथा समयमै खरिद प्रक्रिया सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

धान रोपाइँको समय नजिकिँदै जाँदा पर्साका किसानहरू मलको खोजीमा भौतारिरहेका छन्। सरकारी निकायले छिटो समाधान ननिकाले यस वर्षको धान उत्पादनमा समेत गम्भीर असर पर्ने देखिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित