हरिकिशोर शर्मा / जेठ २२ जिराभवानी पर्सा ।
एभरेष्ट बैंक लिमिटेडले सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविलाई ६ थान कम्प्युटर प्रदान गरेको छ । वित्तीय सामाजिक उत्तरदायित्व अन्तरगत विपन्न परिवारका विद्यार्थीलाई कम्प्युटर शिक्षामा पहुँच पुर्याउने उद्धेश्यले बैङ्कले विद्यालयमा नै पुगी कम्प्युटर हस्तान्तरण गरेको हो ।
शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा बैङ्कका मधेस प्रदेश प्रादेशिक कार्यालय प्रमुख पुष्करराज उप्रेतीले प्रधानाध्यापक बिर्जु प्रसाद चौधरीलाई कम्प्युटर हस्तान्तरण गरेका हुन्। सो अवसरमा प्रमुख उप्रेतीले ६ थान कम्प्युटर सेट र ३ थान फूटबल हस्तान्तरण गरेका थिए।
हस्तान्तरण अगाडी आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उप्रेतीले ज्ञानवाटिका माविमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गीय पृष्ठभूमिको रहेको र विपन्न बालबालिकाले पनि कम्प्युटरको ज्ञान लिन पाउनुपर्छ भनेर कम्प्युटर प्रदान गरिएको बताउनुभयो । आगामी दिनमा पनि विविध क्षेत्रमा विद्यालयसंग बैङ्कले सहकार्य गर्ने उप्रेतीले जानकारी दिनुभयो । कार्यक्रममा बिरगंज भन्सार एजेन्ट संघ , पर्साका अध्यक्ष राजमान तामाङ , नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ लगायतले मन्तव्य राख्नुभयो ।
विव्यस सदस्य बिमल खडकाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा बैङ्कका बिरगंज शाखा प्रमुख विनय उपाध्याय , आइसीपी शाखा प्रमुख सम्पुर्ण महर्जन , विव्यस सदस्य शान्तिमाया थिङ , पुर्व विद्यार्थी प्रतिमा लामा लगायत शिक्षक , विद्यार्थीको उपस्थिति थियो ।








