पर्सा क्षेत्र नं. ४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान

 

पोखरिया, २१ जेठ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्ने उद्देश्यले प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर शाक्यद्वारा घोषणा गरिएको पुरस्कार कार्यक्रमअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नं. ४ का उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।

जिराभवानी गाउँपालिका अन्तर्गत रहेको श्री वितो महतो जनता माध्यमिक विद्यालय, जितपुर नौकाटोलामा आयोजित विशेष कार्यक्रममा एसईई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा ठोरी गाउँपालिका–४, गौतमनगरस्थित श्री सरस्वती माध्यमिक विद्यालयका छात्र अन्सु खनाललाई रु. ५१ हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो। खनालले एसईई परीक्षा २०८१ मा ३.६६ जीपीए प्राप्त गर्दै पर्सा निर्वाचन क्षेत्र नं. ४ भरिमै प्रथम स्थान हासिल गरेका थिए।

त्यसैगरी विभिन्न स्थानीय तहमा प्रथम स्थान हासिल गरेका अन्य विद्यार्थीहरूलाई जनही रु. २१ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो। सम्मानित हुने विद्यार्थीहरूमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवाकी राधा कुमारी (जीपीए ३.२५), श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगरनाथपुरका अजय साह रौनियार (जीपीए ३.४८), श्री कालीप्रसाद लाखे माध्यमिक विद्यालय, लगडीका सञ्जीव पटेल (जीपीए ३.५१), श्री सुकई साह माध्यमिक विद्यालय, भेडीहारीकी रैणु कुमारी (जीपीए ३.५५) तथा श्री मङ्गल माध्यमिक विद्यालय, भिस्वाका रञ्जित कुमार साह (जीपीए ३.२२) रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय टेकबहादुर शाक्यले शिक्षा नै राष्ट्रको विकास, समृद्धि र सामाजिक रूपान्तरणको प्रमुख आधार भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई उच्च लक्ष्य निर्धारण गरी निरन्तर अध्ययनमा समर्पित हुन आग्रह गर्दै मेहनत, अनुशासन र लगनशीलताबाट सफलता हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

उहाँले उत्कृष्ट प्रतिभाको सम्मान तथा प्रोत्साहनका लागि आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि वृद्धि गर्नुका साथै स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक रामशंकर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी पशुराम साह कानु, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने यस पहलको प्रशंसा गर्दै यसले शैक्षिक वातावरण सुधार तथा शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

स्थानीय स्तरमै प्रतिभाको कदर र सम्मान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमलाई क्षेत्रीय शिक्षा विकासका लागि प्रेरणादायी तथा उदाहरणीय कदमका रूपमा हेरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित