भारत–नेपालका विशिष्ट व्यक्तित्वको सहभागितामा पुस्तक लोकार्पण

भारत/ पश्चिम बंगालको हावडास्थित रत्नाकर नर्थ प्वाइन्ट स्कुल सभागारमा लेखक विप्लव विकासद्वारा लिखित ‘भारत किन निशानामा?’ पुस्तकको भव्य लोकार्पण सम्पन्न भएको छ। कार्यक्रममा नेपाल र भारतका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, साहित्यकार, शिक्षाविद् तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पुस्तकको संयुक्त रूपमा लोकार्पण नेपालबाट सहभागी वरिष्ठ पत्रकार रुद्र सुवेदी, दिल्ली विश्वविद्यालयकी हिन्दी विषयकी प्राध्यापक अस्मिता मिश्र, दिल्ली विश्वविद्यालयका डा. अनिरुद्ध सुधांशु, बिहारबाट मानवअधिकार पत्रकारिता अभियन्ता तथा वरिष्ठ पत्रकार डा. शशि भूषण कुमार र विद्यालयका प्राचार्य आनन्द पाण्डेले गरेका थिए।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै लेखक विप्लव विकासले ‘भारत किन निशानामा?’ आफ्नो पुस्तक शृङ्खलाको पहिलो कृति भएको बताए। आगामी दिनमा यस विषयमा आधारित थप पुस्तकहरू प्रकाशन गर्ने योजना रहेको जानकारी दिँदै उनले पाठक तथा बौद्धिक वर्गबाट प्राप्त सुझाव र सहयोगले आफूलाई थप सिर्जनात्मक कार्य गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै मानवअधिकार टुडेका सम्पादक डा. शशि भूषण कुमारले पुस्तकको शीर्षकले नै लेखकको भारतप्रतिको चिन्ता, सोच र दृष्टिकोणलाई स्पष्ट रूपमा अभिव्यक्त गरेको बताए। उनले लेखक विप्लव विकासलाई महत्वपूर्ण विषयमा पुस्तक प्रकाशन गरेकोमा बधाई तथा शुभकामना दिँदै यस्ता रचनात्मक कृतिहरूले समाजलाई सकारात्मक दिशा प्रदान गर्ने विश्वास व्यक्त गरे।
समारोहमा नेपाल तथा भारतका विभिन्न राज्यबाट आएका अतिथिहरूले साहित्य, पत्रकारिता र बौद्धिक क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अवसरका रूपमा कार्यक्रमलाई लिएका थिए। सहभागीहरूले यस्ता साहित्यिक कार्यक्रमले दुई देशबीचको सांस्कृतिक तथा बौद्धिक सम्बन्धलाई थप मजबुत बनाउने धारणा व्यक्त गरेका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित