रक्सौल, जेठ १७ — भारत विकास परिषद् रक्सौल शाखाको आयोजनामा लोकमाता पुण्यश्लोका अहिल्याबाई होल्करको ३०१औँ जन्मजयन्ती श्रद्धा, सम्मान र गरिमापूर्ण वातावरणमा मनाइएको छ।
लक्ष्मीपुरस्थित महाराजा बैंक्वेट हलमा आइतबार आयोजित कार्यक्रममा परिषद्का पदाधिकारी तथा सदस्यहरूले लोकमाता अहिल्याबाई होल्करको तस्बिरमा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।
शाखा अध्यक्ष रजनीश प्रियदर्शीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महिला सहभागिता प्रमुख मेनका गुप्ताको नेतृत्वमा दीप प्रज्वलन तथा ‘वन्दे मातरम्’ गायनबाट सुरु भएको थियो। त्यसपछि भारतमाता र लोकमाता अहिल्याबाई होल्करको तैलचित्रमा पुष्प अर्पण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रियदर्शीले लोकमाता अहिल्याबाई होल्करको व्यक्तित्व र योगदानले उनलाई विश्वकै महान महिलाहरूको श्रेणीमा स्थापित गरेको बताए। मालवाकी महारानीका रूपमा उनले सुशासन, धर्म संरक्षण, जनकल्याण तथा सामाजिक सद्भावका क्षेत्रमा उल्लेखनीय कार्य गरेको उल्लेख गर्दै उनका आदर्शहरू आज पनि समाज र राष्ट्रका लागि प्रेरणाको स्रोत रहेको बताए।
महिला सहभागिता प्रमुख मेनका गुप्ताले लोकमाता अहिल्याबाई होल्कर भारतीय नारी शक्ति, मातृत्व, करुणा र नेतृत्वको अनुपम प्रतीक भएको बताइन्। प्रतिकूल परिस्थितिमा समेत उनले अदम्य साहस, धैर्य र दूरदर्शिताका साथ आदर्श शासन तथा जनकल्याणको स्वर्णिम इतिहास रचेको उल्लेख गर्दै महिलाहरूले उनको जीवन, मूल्य, सेवाभाव र समर्पणबाट प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरिन्। साथै, महिलाहरू सामाजिक, सांस्कृतिक तथा राष्ट्रिय गतिविधिमा सक्रिय रूपमा सहभागी हुनुपर्नेमा उनले जोड दिइन्।
शाखा कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सुनील कुमारले लोकमाता अहिल्याबाई होल्कर भारतीय संस्कृति, महिला सशक्तीकरण, सेवा र जनकल्याणकी सशक्त प्रतीक रहेको बताए। उनले आफ्नो शासनकालमा न्याय, करुणा र धर्मपरायणताको आदर्श प्रस्तुत गरेको उल्लेख गर्दै वर्तमान पुस्ताले उनको कर्तव्यनिष्ठा, समर्पण र समाजप्रतिको उत्तरदायित्वबाट प्रेरणा लिनुपर्ने बताए।
शाखा सचिव नरेश कुमार तथा विजय कुमारले लोकमाता अहिल्याबाई शिवभक्ति, परोपकार र जनसेवाको उत्कृष्ट उदाहरण भएको बताए। इतिहासअनुसार उनले सधैं आफ्नो सिंहासनमा शिवलिङ्ग स्थापना गरी शासन सञ्चालन गर्थिन्। उनले उत्तरमा बद्रीनाथदेखि दक्षिणमा रामेश्वरम तथा काशी विश्वनाथदेखि सोमनाथसम्म अनेकौँ मन्दिर, घाट, धर्मशाला र तीर्थस्थलहरूको निर्माण तथा पुनर्निर्माण गरी सनातन संस्कृतिको संरक्षण र संवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएकी थिइन्।
वक्ताहरूले लोकमाताको हृदय समाजका सबै वर्गप्रति समान रूपमा समर्पित रहेको उल्लेख गरे। उनले गरिब, असहाय, साधु–सन्त, पशुपक्षी तथा कर्मचारीहरूको हितका लागि विभिन्न जनकल्याणकारी कार्यहरू सञ्चालन गरेकी थिइन्। उनले स्थापना गरेका अन्नक्षेत्रहरूबाट दैनिक हजारौँ आवश्यकतामन्द व्यक्तिहरूले निःशुल्क भोजन प्राप्त गर्ने व्यवस्था गरिएको थियो। उनको जीवन जनसेवा, त्याग, समर्पण र मानवीय करुणाको अनुपम उदाहरण रहेको वक्ताहरूको भनाइ थियो।
कार्यक्रममा मेनका गुप्ता, रजनीश प्रियदर्शी, नरेश कुमार, योगेन्द्र प्रसाद, सुनील कुमार, उमेश सिकरिया, अजय कुमार, विनोद कुमार (नारियल गद्दी), विजय कुमार साह, विनोद रौनियार, सुरेश धनोठिया, दिनेश प्रसाद, सन्तोष कुमार, अमरेन्द्र कुमार, मनदीप कुमार, शरद सराफ तथा प्रतीक कुमारलगायत शाखाका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमसम्बन्धी जानकारी शाखाका सम्पर्क संयोजक उमेश सिकरिया तथा सेवा संयोजक एवं मिडिया प्रभारी बिमल कुमार सराफले दिएका हुन्।








