लाखौं मूल्य बराबरको अवैध रेडिमेड कुर्ता शस्त्र प्रहरीले गरे रौतहटमा बरामद

 

रन्धिर साह । रौतहट, १५ जेठ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका–औरैयाबाट काठमाडौंतर्फ अवैध रूपमा तस्करी गरेर लैजान लागिएको लाखौं रुपैयाँ बराबरको रेडिमेड महिलाका महँगा कुर्ताहरू सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सधैं रातिको समयमा सञ्चालन हुने सुपर महानता बस (बा.प्र. ०३–००१ ख २७८१) मा विशेष तरिकाले स्क्रु कसेर बक्साभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त कपडा गौर नगरपालिका–७ सिसवा नजिक तारा पेट्रोल पम्पभन्दा उत्तरतर्फबाट बरामद गरिएको हो ।

गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटबाट खटिएको प्रहरी निरीक्षक संजित कुमार सिंहको नेतृत्वमा बसमा चेकजाँच गर्दा ठूलो मात्रामा महिलाले प्रयोग गर्ने महँगा कुर्ताहरू फेला पारेको थियो । बसभित्र लुकाइएका कपडा निकाल्न प्रहरीलाई करिब ३० मिनेटभन्दा बढी समय लागेको बताइएको छ ।

प्रहरीले बरामद कपडाहरू थप अनुसन्धानका लागि आफ्नो नियन्त्रणमा लिए पनि बसलाई भने छोडिएको छ । यस घटनाले विभिन्न प्रश्नहरू उठाएको छ । यति ठूलो मात्रामा अवैध सामान बसभित्र लोड गर्दा बसका चालक, सहचालक, कन्टेक्टर तथा बसधनीको जानकारी र सहमति बिना सम्भव नहुने स्थानीयको भनाइ छ । तर सामान मात्र नियन्त्रणमा लिएर सम्बन्धित व्यक्तिहरूमाथि कारबाही नगरिनुले घटनालाई थप शंकास्पद बनाएको छ ।

स्थानीयका अनुसार औरैया, लवतना, डुमरिया, कुडिया पानीटंकी हुँदै गौर बसपार्कसम्म यस्तो अवैध सामान सुरक्षित रूपमा पुर्‍याइने गरिएको छ । यस प्रक्रियामा संलग्न व्यक्तिहरूमाथि समेत गम्भीर अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने माग उठिरहेको छ ।

औरैया नाकाबाट दैनिक रूपमा लाखौं रुपैयाँ बराबरका भारतीय अवैध सामानहरू नेपाल भित्रिने गरेको स्थानीयको आरोप छ । सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल औरैया, फतुवा महेशपुर, प्रहरी चौकी औरैया, महुलिया, राजपुर फरहदवा तथा बमनहर लगायतका सुरक्षा निकाय तैनाथ हुँदाहुँदै पनि यति ठूलो परिमाणमा सामान कसरी गौरसम्म पुग्यो भन्ने विषयले सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठाएको छ ।

स्थानीयले गरिब, निमुखा तथा सर्वसाधारणको झोला चेकजाँच गर्ने प्रहरीहरू ठूला तस्कर र संगठित गिरोहप्रति भने मौन रहेको आरोप लगाएका छन् । हाल बरामद गरिएका महिलाका अवैध कुर्ताहरू सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

रौतहटका गौर, लक्ष्मीपुर, बेलबिछवा, महादेवपट्टी, औरैया, मठिया, महुलिया जयनगर, घिउरा, जोकहा लगायतका सीमावर्ती नाकाबाट खुलेआम तस्करी भइरहेको यो घटनाले पुनः प्रमाणित गरेको स्थानीयको भनाइ छ । भारतबाट चिनी, कपडा, मोटर पार्ट्स, सुर्ती, कुखुरा, मदिरा, भैंसी लगायतका सामग्री दैनिक रूपमा अवैध रूपमा नेपाल भित्रिने गरेको छ । सीमामा सुरक्षा निकाय तैनाथ हुँदाहुँदै पनि तस्करी नरोकिनुले राज्य संयन्त्रमाथि गम्भीर प्रश्न उठेको छ ।

स्थानीयका अनुसार केही तस्कर समूहले लाइन सञ्चालन गरिरहेका छन् भने अवैध सामान गरुडा, चन्द्रनिगाहपुर, निजगढ, हेटौंडा, पोखरा हुँदै काठमाडौंसम्म पुर्‍याइने गरिएको छ । यसबाट राज्यले दैनिक लाखौं रुपैयाँ राजस्व गुमाइरहेको अवस्था रहेको बताइन्छ । सीमा सुरक्षा गर्ने निकाय नै यदि सेटिङ र संरक्षणमा संलग्न हुने हो भने कानुन आखिर कसका लागि भन्ने प्रश्न आम जनतामाझ उठ्न थालेको छ ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित