श्री श्रीजग गण वीरगंज द्वारा विपद् व्यवस्थापन तथा उद्धार अभ्यास तालिम सम्पन्न

 

वीरगंज/ ११ जेठ

नेपाली सेना अन्तर्गत श्री श्रीजग गण वीरगंज द्वारा विपद् व्यवस्थापन एवं उद्धार सम्बन्धी अभ्यास तालिम वीरगंजस्थित घडिअर्वा पोखरी मा सम्पन्न भएको छ। प्राकृतिक विपद्का समयमा जनधनको क्षति न्यूनिकरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम श्री श्रीजग गण वीरगंजका प्रमुख कर्नेल लोकेन्द्र बहादुर कार्की को नेतृत्वमा सम्पन्न भएको हो।

कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. १० का कार्यवाहक अध्यक्ष सन्तोष जैसी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए भने वडा नं. ८ का अध्यक्ष रितेश गुप्ता विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साह, पूर्व अध्यक्ष दिलीप साह कानु, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष साह लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा श्री राम चरण साह पन्नालाल माध्यमिक विद्यालय का शिक्षक–शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली सेनाले विपद्को समयमा अपनाउनुपर्ने सावधानी, बाढीबाट बच्ने उपाय तथा डुब्न लागेको अवस्थामा कसरी सुरक्षित रहने भन्ने विषयमा व्यवहारिक अभ्यास प्रदर्शन गरेका थिए।

तालिमका क्रममा सेनाका जवानहरूले बाढी आएको बेला उद्धार कार्य कसरी गरिन्छ भन्नेबारे विस्तृत डेमो प्रस्तुत गरेका थिए। डुब्न लागेका व्यक्तिलाई डोरी, लाइफ ज्याकेट, ट्युब तथा स्थानीय रूपमा उपलब्ध सामग्रीको प्रयोग गरी कसरी सुरक्षित स्थानमा ल्याउने भन्ने अभ्यास गरिएको थियो। त्यसैगरी पानीको बहावमा फसेका व्यक्तिलाई उद्धार टोलीले कसरी समन्वय गरी उद्धार गर्छ, प्राथमिक उपचार कसरी प्रदान गरिन्छ तथा विपद्को समयमा नागरिकले अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे जानकारी दिइएको थियो।

कार्यक्रममा सहभागी स्थानीयवासी तथा विद्यार्थीहरूले नेपाली सेनाले प्रदर्शन गरेको उद्धार अभ्यासलाई निकै उपयोगी र ज्ञानवर्धक भएको बताएका थिए। विशेषगरी बाढीजन्य जोखिम बढ्दै गएको अवस्थामा यस्ता सचेतनामूलक तथा व्यवहारिक तालिमले समुदायलाई विपद्सँग जुध्न सक्षम बनाउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमको समापनमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले विपद्को समयमा नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित