सरस्वती मा.वि ठोरी की अन्शु खनाल पर्सा–४ कै सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थी

 

हरिकिशोर शर्मा / जेठ १० जिराभवानी पर्सा।

माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका सामुदायिक विद्यालयहरूमध्ये सर्वोत्कृष्ट नतिजा हासिल गर्दै अन्शु खनाल क्षेत्रकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएकी छन्।

बैशाख अन्तिम साता प्रकाशित SEE नतिजाअनुसार श्री सरस्वती माध्यमिक विद्यालय ठोरी बाट परीक्षामा सहभागी खनालले ३.६६ जिपिए प्राप्त गरी पर्सा–४ का सामुदायिक विद्यालयतर्फ प्रथम स्थान हासिल गरेकी हुन्।

गत चैत महिनामा श्री माध्यमिक विद्यालय विजयबस्ती परीक्षा केन्द्र बाट परीक्षा दिएकी मेधावी छात्रा खनालले उत्कृष्ट शैक्षिक क्षमता, लगनशीलता र निरन्तर मेहनतका बलमा यो उल्लेखनीय सफलता हासिल गरेकी हुन्। उनले ठोरी गाउँपालिकाभित्र मात्र होइन, पर्सा–४ क्षेत्रका सामुदायिक विद्यालयका परीक्षार्थीहरूमध्ये पनि सर्वाधिक जिपिए प्राप्त गर्दै नयाँ कीर्तिमान कायम गरेकी छन्।

खनालको यो उपलब्धिले विद्यालय, अभिभावक तथा सम्पूर्ण ठोरीवासीलाई गौरवान्वित बनाएको छ। उनको सफलताले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समेत उच्च शैक्षिक उपलब्धितर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।

विद्यालय परिवारले अन्शु खनालको उज्ज्वल भविष्यको कामना गर्दै उनको यस ऐतिहासिक सफलताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। साथै, यस उपलब्धिले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको अथक परिश्रमलाई समेत उजागर गरेको विद्यालय प्रशासनले जनाएको छ।

खनालले २०८० सालको ठोरी गाउँपालिकाबाट सन्चालित आधारभूत तह परीक्षा कक्षा ८ बाट ३.८१ जिपिए प्राप्त गर्दै ठोरी गाउँपालिका प्रथम भएकी थिइन्।

यसैबिच पर्सा क्षेत्र नम्बर ४ का सांसद माननीय टेकबहादुर शाक्यले आफ्नो निर्वाचन क्षेत्रभरिका सामुदायिक विद्यालयहरुबाट SEE परीक्षामा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई नगद रु ५१ हजार १ सय ११पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए ,उक्त पुस्कार ठोरीकी अन्शु खनालले प्राप्त गर्ने निस्चित भएको छ। सांसद शाक्यले आफ्नो निर्वाचन क्षेत्र भित्रका पालिका स्तरमा पनि उक्त परीक्षामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई रु २१ हजार १ सय ११ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित