जगरनाथपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्व चयन, प्रसुराम साह कानु सर्वसम्मत सभापति

 

शैलेश गुप्ता

९ जेठ, वीरगञ्ज

पर्साको जगरनाथपुर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन विस्तार तथा सुदृढीकरणलाई लक्षित गर्दै आयोजित भेलाबाट नयाँ नेतृत्व चयन गरिएको छ।

आज सम्पन्न भेलाले प्रसुराम साह कानुलाई सर्वसम्मत रूपमा गाउँपालिका सभापतिमा चयन गरेको हो। कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न वडाबाट सहभागी जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

लामो समयदेखि विकास निर्माण, सुशासन तथा आधारभूत सेवाको प्रभावकारी कार्यान्वयनको अपेक्षामा रहेका जगरनाथपुर गाउँपालिकाका स्थानीयवासीले नयाँ नेतृत्वप्रति आशा व्यक्त गरेका छन्। सहभागीहरूले प्रसुराम साह कानुको नेतृत्वमा गाउँपालिकामा सकारात्मक परिवर्तन र विकासको नयाँ अभियान सुरु हुने विश्वास व्यक्त गरे।

भेलामा बोल्ने वक्ताहरूले स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र जनमुखी कामको आवश्यकता औंल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बताएका थिए। उनीहरूले परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले जनताको अपेक्षा पूरा गर्न सक्षम नेतृत्वको आवश्यकता रहेको धारणा राखे।

सभापतिमा चयन भएपछि प्रसुराम साह कानुले गाउँपालिकाको समग्र विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको विश्वासलाई आत्मसात गर्दै सुशासन, पारदर्शिता र युवाको सहभागितालाई केन्द्रमा राखेर अघि बढ्ने बताए।

कानुले जगरनाथपुरलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन सबै पक्षसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित