हरिकिशोर शर्मा / जेठ ८ जिराभवानी पर्सा ।
पर्साको ठोरी गाउँपालिका वडा न ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माध्यमिक विद्यालयमा शुक्रबार संरक्षण सम्बन्धी एक दिने स्कुल शिक्षा कार्यक्रम सम्पन्न भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको आर्थिक सहयोग एवम् सुनाखरी उपभोक्ता समिति सुवर्णपुरको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई वन र वातावरण संरक्षण , जैविक विविधता र पर्यापर्यटन एवम् वन्यजन्तुको बारेमा अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विष्णु रोकायले संरक्षणको महत्व , आवश्यक्ता र यसले पर्यापर्यटन र वातावरण संरक्षणमा पुर्याउने फाइदाबारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रमा सो विद्यालयका ईको क्लबसंग आवद्ध २ दर्जन भन्दा धेरै विद्यार्थीको सहभागिता थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर नेवारको प्रमुख आतिथ्यता एवम् आयोजक सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर पाख्रीनकाे अध्यक्षतामा आयोजित कार्यक्रममा ठोरी -५ को वडा सदस्य निशा खड्का , विव्यस सदस्यहरु कान्छीमाया लामा , रुपा परियार , फूर्बा घ्याम्जो मोक्तान लगायतको पनि उपस्थिति थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले वन र वातावरण संरक्षणको महत्व र आवश्यक्ता र महत्वबारे चर्चा गरेका थिए । कार्यक्रमा वडा सदस्य खड्का , विव्यस अध्यक्ष र सुनाखरी उपभोक्ता समितिका अध्यक्षले सहभागीमाझ संरक्षण सम्बन्धी चर्चा गर्नुभएको थियो ।
यसैबिच सुवर्णपुरमा रहेको सुनाखरी उपभोक्ता समितिले सो विद्यालयमा संरक्षण र विद्यार्थीको शिक्षा सुधारका लागि विगतका वर्षदेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । आर्थिक अवस्था कमजोर र जेहेन्दार एवम् वन्यजन्तु प्रभावित क्षेत्रका बालबालिकालाई छात्रवृत्ति वितरण , संरक्षण सम्बन्धी हाजीरी जवाफ एवम् वृक्षारोपण सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको सो समितिले यस वर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति तथा विपन्न विद्यार्थीका लागि जनही रु २ हजार छात्रवृत्ति वितरण गर्न लागेको सो सनितिका सचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो ।








