वीरगंज, ०७ जेठ । “राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” का संयोजक दुर्गा प्रसाईँ को पक्राउविरुद्ध वीरगंजमा बिहीबार पुनः प्रदर्शन गरिएको छ । समर्थकहरूले उनको तत्काल रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरू विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर जिल्ला प्रहरी कार्यालयअगाडि भेला भएका थिए । त्यसपछि उनीहरूले घण्टाघरतर्फ मार्च गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनपछि पुनः प्रहरी कार्यालयअगाडि फर्किएर विरोध सभासमेत आयोजना गरिएको थियो ।
प्रदर्शनका क्रममा सहभागीहरूले “दुर्गा प्रसाईँलाई बिना शर्त रिहा गर”, “राज्य आतंक बन्द गर”, “प्रहरी दमन स्वीकार छैन” लगायतका नाराबाजी गरेका थिए । केही प्रदर्शनकारीले कालो पट्टी बाँधेर सरकारको कदमप्रति प्रतीकात्मक विरोधसमेत जनाएका थिए ।
समर्थकहरूले प्रसाईँलाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै तत्काल रिहाइको माग गरेका छन् । उनीहरूले फरक विचार राख्ने व्यक्तिमाथि राज्यले दमन गर्न खोजेको आरोप पनि लगाएका छन् ।
प्रसाईँलाई गत सोमबार वीरगंजस्थित सिद्धार्थ दियालो होटलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउपछि पर्सा प्रहरीले विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाउन जिल्ला अदालतबाट तीन दिनको म्याद लिएको जनाएको छ ।
उनको पक्राउपछि वीरगंजमा लगातार विरोध प्रदर्शन हुँदै आएको छ ।








