वीरगंज/जेठ ६ गते।
भारत सरकारको आर्थिक सहयोगमा मधेश प्रदेशको सप्तरी जिल्लास्थित सुरुङ्गा नगरपालिकामा निर्माण गरिएको श्री जनता माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ।
भारतको महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीणा र सुरुङ्गा नगरपालिकाकी प्रमुख गीता चौधरीले संयुक्त रूपमा विद्यालय भवनको उद्घाटन गरेका हुन्।
उक्त भवन तथा सम्बन्धित संरचना उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत निर्माण गरिएको हो। परियोजना सुरुङ्गा नगरपालिका मार्फत कार्यान्वयन गरिएको जनाइएको छ।
सन् १९५१ मा स्थापना भएको श्री जनता माध्यमिक विद्यालयमा हाल ईसीडीदेखि स्नातक तहसम्म अध्ययन हुँदै आएको छ। विद्यालयमा करिब ६२७ जना विद्यार्थी अध्ययनरत रहेका छन्, जसमध्ये ३५८ जना छात्रा रहेका छन्।
उद्घाटन कार्यक्रममा सुरुङ्गा नगरपालिका, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारद्वारा प्राप्त विकास सहयोगप्रति आभार व्यक्त गरेका थिए। नयाँ पूर्वाधारले शिक्षण सिकाइको वातावरण थप प्रभावकारी बनाउने तथा क्षेत्रीय शिक्षा विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।
भारत र नेपालबीच बहुआयामिक तथा घनिष्ठ सहकार्य रहँदै आएको उल्लेख गर्दै यस्ता विकास परियोजनाले नेपालको प्राथमिक क्षेत्रको पूर्वाधार विकास तथा समग्र प्रगतिमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरिएको छ।








