ठोरीमा माननीय शाक्यले लोमान्थाङको शुभारम्भ, मूर्ति खरिद गर्न माननीयको सहयोगको आह्वान

 

हरिकिशोर शर्मा / जेठ ५ जिराभवानी पर्सा ।

पर्साको ठोरी गाउँपालिका–४ स्थित साङारिङछिङ बौद्ध गुम्बा ध्याङडाँरामा आज लोमानथाम्वो (त्रिपिटक) पाठको शुभारम्भ गरिएको छ । कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर शाक्यले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको हो । आजभन्दा दुई वर्षअघि ल्याइएको धर्मशास्त्र लोमानथाम्वो (त्रिपिटक) गुम्बामा राखी दैनिक पूजा–आराधनासहित संरक्षण गरिएको थियो ।

धर्मगुरु लोपेन युराज लामाको रोहवरमा तथा गुम्बा अध्यक्ष रत्न पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै सांसद शाक्यले बौद्ध परम्परासँग आफ्नो अत्यन्त गहिरो परम्परागत सम्बन्ध रहेको उल्लेख गर्नुभयो । गुम्बामा उपस्थित हुँदा आफूलाई “बुद्धको काखमा रहेको” अनुभूति भइरहेको उहाँले बताउनुभयो ।

उहाँले गुम्बामा भवन तथा भौतिक पूर्वाधार भए पनि गुम्बाको मुख्य आकर्षणका रूपमा बुद्धमूर्ति अभाव रहेको उल्लेख गर्दै त्यसका लागि आफू व्यक्तिगत रूपमा सहयोग गर्न तयार रहेको बताउनुभयो । संघीय बजेटबाट साना योजनामा रकम विनियोजन नहुने अवस्था रहेको बताउदै, उहाँले यो मूर्ति खरिद गर्ने अभियान जो–कोही सामाजिक अभियन्ताले सुरु गर्न आह्वान गर्दै त्यस अभियानमा स्थानीय समुदायलाई समेत सहयोगका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा गुम्बा अध्यक्ष रत्न पाख्रिनले माननीय शाक्यमार्फत भगवान् बुद्धले गुम्बाका लागि बुद्धमूर्ति पठाउन खोज्नुभएको जस्तो अनुभूति भएको प्रतिक्रिया दिँदै माननीय शाक्यलाई विशेष धन्यवाद दिनुभयो ।

सहजीकरण बुद्ध पाख्रिनले गरेका उक्त कार्यक्रममा नेकपा (एमाले) ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, समाजसेवी सन्तोष श्रेष्ठ, टेक तिमिल्सिना, होमबहादुर श्रेष्ठ लगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित