वीरगंज / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगरपालिका वडा नं. १० को वडा भेला उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्य सुशील साह कानुको वडा समेत रहेको वडा नं. १० मा सम्पन्न भेलाले सर्वसम्मत रूपमा नयाँ वडा समिति गठन गरेको छ।
भेलामा पार्टीको संगठन विस्तार, जनसरोकारका मुद्दा, सुशासन तथा वडास्तरमा पार्टीको गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो।
भेलाबाट सन्तोष कुमार साह सभापतिमा, मुकेश कुमार गुप्ता उपसभापतिमा तथा सुमेश्वर साह सचिव पदमा सर्वसम्मत रूपमा चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा मनिश कुमार सरार्फ, सोनु गुप्ता, विकास साह सोनार, प्रेम गुरुङ, मन्जु कलवार ,खुशी श्रेष्ठ र ज्योति कुमारी सोनारिन चयन भएका छन्। महिला दलित सदस्यमा जया कुमारी देवी चयन भएका छन्।
यसैगरी सल्लाहकार समितिमा दिपेन्द्र कुमार सिंह, रमइ साह कानु तथा योगिन्दर प्रसाद कानु चयन भएका छन्।
कार्यक्रममा मधेस प्रदेश संगठन विभागका उपप्रमुख प्रमोद राय माझी को विशेष उपस्थिति रहेको थियो। साथै मधेस प्रदेश खेलकुद विभागका सभापति आनन्द प्रसाद कानु, पर्सा जिल्ला सदस्य प्रियंका पटेल, वीरगंज महानगर सदस्य सन्दिप कुशवाहा तथा पर्सा क्षेत्र नं. २ का सचिव किशन प्रसादको समेत उपस्थिति रहेको थियो।
भेलामा उपस्थित नेता तथा कार्यकर्ताहरूले वडा नं. १० बाट पार्टीको संगठनलाई अझ सुदृढ बनाउँदै जनताको आवाजलाई प्रभावकारी रूपमा उठाउने, सुशासनको अभियानलाई घरदैलोसम्म पुर्याउने तथा वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ समिति गठनसँगै वडा नं. १० मा पार्टीको संगठनात्मक गतिविधि थप सक्रिय र प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।








