वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्सामा चारवटा मुद्दा दर्ता

जलेश्वर सरार्फ/पर्सा

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्सामा चारवटा मुद्दा दर्ता भएसँगै यो प्रकरणले नयाँ मोड लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार झुठा विवरण पेस गरेर नागरिकता बनाएको र सरकारी लिखत किर्ते गरेको कसुरमा मेयर सिंहमाथि दुई/दुई वटा मुद्दा चलाइएको हो!

​पछिल्लो घटनाक्रमलाई आधार मानेर यो सम्पूर्ण विवादको बेलिबिस्तार निम्नानुसार छ:

​विवादको पृष्ठभूमि र मुख्य आरोप:-

​यो घटना २०८० साल माघ महिनाबाट कानुनी प्रक्रियामा प्रवेश गरेको हो, जब वीरगंज-३ का लियाकत अलिले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए! जाहेरीमा मेयर सिंहले रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी दाबी गर्दै किर्ते जन्मदर्ता बनाएको र सोही आधारमा नागरिकता, राहदानी (पासपोर्ट) लगायतका कानुनी कागजात खडा गरिदिएको गम्भीर आरोप लगाइएको छ!

​सुस्त अनुसन्धान र अदालतको हस्तक्षेप

​प्रारम्भमा यो मुद्दाको अनुसन्धान प्रक्रिया निकै सुस्त देखिएको थियो! जाहेरी पर्दा पर्साको प्रहरी कमान्ड तत्कालीन एसपी कोमल शाहको हातमा थियो! त्यसपछि क्रमशः कुमोद ढुंगेल, गौतम मिश्र हुँदै हालका एसपी सुदीपराज पाठकको कार्यकालसम्म आइपुग्दा पनि अनुसन्धानले गति लिन सकेको थिएन!

​प्रहरीले अनुसन्धानमा ढिलासुस्ती गरेपछि जाहेरवाला लियाकत अलि न्याय माग्दै उच्च अदालत जनकपुरको वीरगंज अस्थायी इजलास पुगेका थिए! अदालतले प्रहरीका नाममा तत्काल अनुसन्धान अघि बढाउन परमादेश जारी गरेपछि मात्रै पर्सा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाएको हो!

​सञ्चारमाध्यमको भूमिका र प्रतिशोधको राजनीति:-

​यो सम्पूर्ण प्रकरणलाई पहिलोपटक २०८० पुसमा पत्रकार जियालाल साहले ‘सिधाकुरा’ मार्फत सार्वजनिक गरेका थिए! समाचार बाहिरिएपछि यो विषयले राष्ट्रिय रूपमै चर्चा पाएको थियो!

​तर, मुख्य मुद्दा ओझेलमा परिरहेकै बेला मेयर सिंहले उल्टै समाचार लेख्ने पत्रकार साह विरुद्ध गाली बेइज्जती, लिखित बेइज्जती र साइबर अपराध सम्बन्धी मुद्दा दायर गरे! परिणामस्वरूप, दोषीमाथि कारबाहीको माग उठाइरहेका पत्रकार साह आफैँ विगत डेढ वर्षदेखि कानुनी झमेला खेप्न बाध्य पारिएका छन्!

​वर्तमान अवस्था:-

​लामो समयको अन्योलतापछि अन्ततः सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेसँगै वीरगंजको स्थानीय राजनीति र प्रशासनिक वृत्तमा ठुलो हलचल पैदा भएको छ! अदालतमा मुद्दा दर्ता भएसँगै अब मेयर सिंहको पद र कानुनी भविष्य के हुने भन्नेबारे चौतर्फी चासो बढेको छ!

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित