वीरगंजमा होटल तथा क्यान्टिनमा छड्के अनुगमन, मापदण्ड उल्लंघन गर्ने व्यवसायीलाई जरिवाना

 

वीरगंज, १ जेठ ।

संयुक्त बजार अनुगमन टोलीले वीरगंजका विभिन्न होटल तथा क्यान्टिनमा छड्के अनुगमन गर्दै मापदण्ड विपरीत सञ्चालन भइरहेका व्यवसायमाथि कारबाही गरेको छ।

अनुगमनका क्रममा अधिकांश होटल तथा क्यान्टिन दर्ताबिनै सञ्चालन गरिएको, सरसफाइमा लापरवाही गरिएको, कामदारहरूले व्यक्तिगत स्वच्छतामा ध्यान नदिएको तथा भान्सा अव्यवस्थित अवस्थामा रहेको पाइएको थियो। साथै खाद्य सामग्री खुला रूपमा बिक्री–वितरण गरिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गतिविधि भेटिएपछि टोलीले तत्काल जरिवाना गरेको जनाएको छ।

वीरगंज महानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालय रोडमा रहेको तराई हस्पिटलभित्र सञ्चालित क्यान्टिन दर्ताबिनै सञ्चालन गरिएको, सरसफाइ कमजोर रहेको तथा कामदारहरूले स्वच्छता मापदण्ड पालना नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड “ट” तथा दफा ३९ (१) को खण्ड “घ” अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ।

त्यसैगरी, सोही क्षेत्रमा सञ्चालित ज्योती मगर होटललाई २० हजार रुपैयाँ तथा उर्मिला महतोद्वारा सञ्चालित होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। बुद्ध होटललाई भने आवश्यक विवरणसहित जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पर्क राख्न निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा सम्पन्न अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका मधुरेश शाह, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजका श्रवणकुमार साह, उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका सदस्य प्रकाशकुमार शाह, वीरगंज उद्योग वाणिज्य संघका मनोजकुमार दास तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक रामकुमार थिङलगायतको सहभागिता रहेको थियो।

अनुगमन टोलीले व्यवसायीहरूलाई उपभोक्ताले तिरेको मूल्यअनुसार गुणस्तरीय सामग्री, सुरक्षित सेवा तथा स्वच्छ वातावरण उपलब्ध गराउन आग्रह गरेको छ। विशेषगरी होटल, रेस्टुरेन्ट तथा खाद्य सामग्री बिक्री गर्ने व्यवसायीहरूले सरसफाइ, खाद्य सुरक्षा तथा स्वच्छता मापदण्डमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका व्यवसायमा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य नहुने भन्दै टोलीले आगामी दिनमा अझ कडाइका साथ अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

केही दिनअघि मात्रै संयुक्त बजार अनुगमन टोलीले मासु पसलहरूको निरीक्षणका क्रममा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्दै जरिवाना गर्नुका साथै बरामद मासु जफत गरी नष्ट समेत गरेको थियो। पछिल्ला अनुगमनहरूले बजारलाई स्वच्छ, सुरक्षित र उपभोक्तामैत्री बनाउन प्रशासन सक्रिय रूपमा लागेको संकेत गरेको स्थानीय उपभोक्ताहरूले बताएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित