निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध सरकारलाई ज्ञापनपत्र

 

वीरगंज, ३१ वैशाख

निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धि, बढ्दो महँगी तथा मूल्य समायोजन लागू नभएको भन्दै नेपाल निर्माण व्यवसायी संघ पर्साले सरकारको ध्यानाकर्षण गराएको छ। संघले बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै निर्माण व्यवसायीहरूले भोगिरहेका समस्याको तत्काल समाधान गर्न माग गरेको हो।

ज्ञापनपत्र बुझाउन पुगेका निर्माण व्यवसायीहरूले पछिल्लो समय डिजेल, डण्डी, सिमेन्ट, बिटुमिनलगायत निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेको बताएका छन्। उनीहरूले सामग्रीको मूल्य आकासिँदा पुरानै दररेटमा निर्माण कार्य सञ्चालन गर्नुपर्ने बाध्यताले व्यवसायीहरू आर्थिक संकटमा परेको उल्लेख गरेका छन्।

संघका अनुसार सार्वजनिक खरिद नियमावलीमा मूल्य समायोजनको व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा निर्माण व्यवसायीहरू मारमा परेका छन्। निर्माण क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ श्रमिक जोडिएको उल्लेख गर्दै सरकारले समयमै उचित कदम नचाले निर्माण क्षेत्र नै ठप्प हुने चेतावनी दिइएको छ।

नेपाल निर्माण व्यवसायी संघ पर्साका प्रतिनिधि सञ्जय पटेलले देशव्यापी आन्दोलन कार्यक्रमअन्तर्गत पर्सामा पनि ज्ञापनपत्र बुझाइएको जानकारी दिए। उनले सरकारबाट माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताए।

संघले निर्माण सामग्रीको कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न, तत्काल मूल्य समायोजन लागू गर्न र निर्माण व्यवसायीमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित