माछा तथा मासु बिक्रीमा ठगी रोक्न प्रशासन सक्रिय, अनुगमन कडा बनाइने

 

वीरगंज/३१ वैशाख।

पछिल्लो समय माछा तथा मासु बिक्रीमा उपभोक्ता ठगिएको गुनासो बढ्न थालेपछि पर्सा जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल गर्दै बजार व्यवस्थापन तथा अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा बिहीबार आयोजित छलफल कार्यक्रममा नियमनकारी निकाय, उपभोक्ता हित संरक्षण मञ्च नेपाल तथा माछा–मासु व्यवसायीहरूको सहभागिता रहेको थियो। छलफलमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने, सरसफाइमा लापरवाही गर्ने, मूल्यमा एकरूपता नराख्ने तथा कम तौल दिएर उपभोक्ता ठगी गर्ने जस्ता विषयमा गम्भीर चासो व्यक्त गरिएको थियो।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले बजारमा देखिएका अनियमितताबारे प्रशासनको ध्यानाकर्षण गराएपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले विषयलाई गम्भीर रूपमा लिँदै सरोकारवालासँग छलफलमार्फत समाधान खोज्ने प्रतिबद्धता जनाएका थिए। सोहीअनुसार आयोजित छलफलबाट बजार सुधारका लागि विभिन्न निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दाहालले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग खेलबाड गर्न नदिइने स्पष्ट पार्दै व्यवसायलाई व्यवस्थित, पारदर्शी तथा उपभोक्तामैत्री बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

छलफलबाट बजार अनुगमनलाई प्रभावकारी बनाउने, सबै पसलमा मूल्यसूची अनिवार्य राख्ने, मासुको स्पष्ट पहिचान खुलाएर मात्र बिक्री गर्ने, कम तौल दिने तथा ठगी गर्ने व्यवसायीमाथि कारबाही गर्ने, सरसफाइ कायम राख्ने तथा मूल्यमा एकरूपता ल्याउन समन्वय गर्ने निर्णय गरिएको छ। साथै उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।

व्यवसायीहरूले उपभोक्ताको विश्वास कायम राख्दै जिम्मेवार रूपमा व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। उपभोक्ता हित संरक्षण मञ्च नेपालले प्रशासनको पहल सकारात्मक रहेको उल्लेख गर्दै निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित