वीरगंज/२९ वैशाख
नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा श्री दीप नारायण आदर्श नमूना माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थी तथा शिक्षकहरूको आँखासम्बन्धी स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले आयोजित शिविरबाट सयौं लाभान्वित भएका छन्।
कार्यक्रमको सभापतित्व नेपाल नेत्रज्योति संघ पर्साका सभापति भगवती चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल उपस्थित थिए। पोखरेलले विद्यार्थीहरूलाई चश्मा तथा उपचारसम्बन्धी पर्चा वितरण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए।
शिविरमा विद्यार्थी र शिक्षक गरी करिब ५१५ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा आवश्यकताअनुसार निःशुल्क औषधि तथा चश्मासमेत वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमपछि विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूले नेपाल नेत्रज्योति संघप्रति आभार व्यक्त गरेका थिए। विद्यालय व्यवस्थापन समितिका सदस्य राजन श्रीवास्तवले यस्ता स्वास्थ्य शिविरले विद्यार्थीमा स्वास्थ्य सचेतना बढाउनुका साथै आवश्यक उपचारमा सहज पहुँच पुर्याउन महत्वपूर्ण योगदान पुग्ने बताए।








