हरिकिशोर शर्मा / बैशाख २९ जिराभवानी पर्सा ।
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा हिजो सोमबार राती प्रकाशन भएको छ। देशभरी ६५.९८% रिजल्ट सार्वजनिक भएको हो।
ठोरी गाउँपालिका भित्रका सामुदायिक विद्यालयको नतिजा यसपटक पनि चिन्ताजनक देखिएको छ।ठोरीका ६ वटा मा वि का विद्यार्थीहरु १७९ जना परीक्षामा सहभागी भएका थिए भने ३४ जना विद्यार्थीले सफलता प्राप्त गरेका छन् ।जुन कुल सहभागी विद्यार्थीहरु मध्ये १९% परीक्षार्थीहरु उत्तीर्ण भएको देखिएको छ।
ठोरीका सामुदायिक विद्यालयहरुमा श्री नेरामावि ओडारले अग्रता लिएको छ। ओडार मा वि बाट १८ जना विद्यार्थी परीक्षार्थी मध्ये १० जना उत्तीर्ण भएका छन् ।जुन ५५.५५% हुन आउँछ। त्यसै गरी सरस्वती मा वि गौतमनगरले जिपिए तर्फ सर्वोत्कृष्ट स्थान प्राप्त गरेको छ ।सरस्वती मा वि की छात्रा अंशु खनालले ३.६६ जिपिए प्राप्त गर्दै ठोरी गाउँपालिका प्रथम गरेकी छिन्। खनाल पालिका स्तरीय परीक्षा कक्षा ८ मा पनि ठोरी पालिका प्रथम भएकी थिइन्। सरस्वती मा विका ४३ परीक्षार्थी मध्ये १३ जनालाई सफलता मिलेको छ ।जुन ३०.२३% हुन आउँछ। त्यसैगरी श्री मा वि बिजयबस्तीले १६.१३ प्रतिशत नतिजा हासिल गरेको छ। बिजयबस्तीका ३१ जना परीक्षार्थी मध्ये ५ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
त्यसैगरी श्री नेरा प्राविधिक मा वि दीपकनगरका प्राविधिक धारका परीक्षार्थीको नतिजा शुन्य देखिएको छ। परीक्षामा विद्यार्थी सहभागिता भएता पनि प्राविधिकधारतर्फका परीक्षार्थीको नतिजामा अनुपस्थिति देखिएको विद्यालयले जनाएको छ। साधारण तर्फ भने १२ जना परीक्षार्थी मध्ये २ जना उत्तीर्ण भएका छन् ।जुन १६.६६ % हुन आउँछ। त्यसै गरी ज्ञानवाटिका मा वि सुवर्णपुरका ८.८२ % विद्यार्थी उत्तीर्ण भएका छन्।कुल ३४ परीक्षार्थी मध्ये ३ जना विद्यार्थी मात्र सुवर्णपुरबाट उत्तीर्ण भएका हुन्। त्यसै गरी ठोरी ४ मा अवस्थित ज्ञानज्योति मा वि घ्याङ्गडाँडाले ३.७ प्रतिशत रिजल्ट प्राप्त गरेको छ।२७ जना परीक्षार्थी मध्ये १ जना मात्र उत्तीर्ण भइ विद्यालयको साख जोगाइदिएका छन्।








