काठमाडौं, २८ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएपछि केही समय अवरुद्ध भएको उडान–अवतरण सेवा पुनः सञ्चालनमा आएको छ।
टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको टिके–७२६ नम्बरको विमान आज बिहान अवतरण गर्ने क्रममा चक्काबाट आगो निस्किएको थियो। घटनापछि बिहान ६ः४५ बजेदेखि विमानस्थलको उडान तथा अवतरण सेवा रोकिएको थियो।
विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार करिब डेढ घण्टापछि विमानस्थल पुनः सञ्चालनमा आएको हो। उहाँका अनुसार बिहान ८ः३० बजे एयर इन्डियाको विमान र ८ः३५ बजे फ्लाइ दुबईको विमान सफलतापूर्वक अवतरण गरिसकेका छन् भने केही अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानसमेत सुरु भइसकेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले विमानको चक्कामा लागेको आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको जानकारी दिनुभयो। आगलागीपछि विमानलाई रनवेमै रोकेर आपतकालीन ढोकामार्फत यात्रुहरूको सुरक्षित उद्धार गरिएको थियो।
प्रहरीका अनुसार विमानमा २७३ जना यात्रु तथा ११ जना चालक दलका सदस्य सवार थिए। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ।
घटनापछि केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए भने विमानस्थल प्रशासनले सुरक्षा अवस्थालाई सामान्य बनाएपछि नियमित सेवा पुनः सञ्चालन गरिएको जनाएको छ।








