वीरगंज, २७ वैशाख ।
वीरगंज महानगरपालिकाद्वारा निर्माण तथा सौन्दर्यीकरण भइरहेको विपी उद्यान पार्कको काम तीव्र गतिमा अघि बढिरहेको छ। पार्क दिनप्रतिदिन आकर्षक बन्दै गएको छ भने हरियाली प्रवर्द्धन, सौन्दर्यीकरण तथा विभिन्न पूर्वाधार निर्माणका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्।
यसैक्रममा आदर्शनगर ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानसहित पदाधिकारीहरूको टोलीले पार्क क्षेत्रको निरीक्षण गर्दै भइरहेको कार्यप्रगतिबारे जानकारी लिएको छ। निरीक्षणका क्रममा टोलीले पार्कभित्र भइरहेको हरियाली विस्तार, संरचना निर्माण, सरसफाइ तथा वातावरणीय व्यवस्थापनको अवस्थाबारे चासो व्यक्त गरेको थियो।
निरीक्षणपछि प्रतिक्रिया दिँदै अध्यक्ष खेतानले वीरगञ्जलाई हराभरा, सफा तथा स्मार्ट सिटीका रूपमा विकास गर्ने अभियानमा आदर्शनगर ग्रीनसिटी र सामुदायिक प्रहरी सेवा आदर्शनगर सुरुदेखि नै सक्रिय रहेको बताए। उनले वातावरण संरक्षणसँगै शहरको सौन्दर्य वृद्धि गर्ने अभियानलाई निरन्तरता दिइने उल्लेख गरे।
खेतानले आगामी दिनहरूमा वृक्षारोपण, सरसफाइ, ट्राफिक व्यवस्थापन, सार्वजनिक स्थल संरक्षण तथा नागरिक सचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिने जानकारी दिए। “काम गर्दै जाने हो, फल हेर्ने होइन,” भन्ने धारणा व्यक्त गर्दै उनले निरन्तर सकारात्मक प्रयास र सहकार्यबाट मात्रै शहरको दिगो विकास सम्भव हुने विश्वास व्यक्त गरे।
उनले विगतको वीरगंज र वर्तमान वीरगंजबीच उल्लेखनीय परिवर्तन आएको दाबी गर्दै नागरिकलाई स्वयं तुलना गर्न आग्रह गरे। “पहिलेको वीरगंज र आजको वीरगंज हेर्नुस्, कति परिवर्तन आएको छ,” उनले भने, “शहरलाई अझ व्यवस्थित, सफा र हराभरा बनाउन सबै क्षेत्रको साथ, सहयोग र सहभागिता अपरिहार्य छ।”
कार्यक्रममा सहभागीहरूले वीरगंज लाई व्यवस्थित, स्वच्छ र आधुनिक शहरका रूपमा स्थापित गर्न महानगरपालिका, सामाजिक संस्था, सुरक्षा निकाय तथा स्थानीयवासीबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
निर्माण सम्पन्न भएपछि विपी उद्यान पार्क वीरगंजवासीका लागि मनोरञ्जन, वातावरणीय सन्तुलन तथा सार्वजनिक भेटघाटको आकर्षक केन्द्र बन्ने अपेक्षा गरिएको छ।








