“लागु औषध प्रयोगकर्ता खोजि एवं सुधार अभियान २०८३” अन्तर्गत वीरगंजमा ८ जना नियन्त्रणमा

 

वीरगंज, २५ वैशाख

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा सञ्चालन गरिएको “लागु औषध प्रयोगकर्ता खोजि एवं सुधार अभियान २०८३” अन्तर्गत वीरगंजमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको छ।

अभियानअन्तर्गत शुक्रबार वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वास्थित शंकराचार्य गेट नजिक स्वास्थ्यकर्मी तथा लागूऔषध परीक्षण किटसहितको चेकपोष्ट स्थापना गरी चेकजाँच गरिएको थियो।

उक्त चेकजाँचका क्रममा लागूऔषध सेवन गरी सार्वजनिक स्थलमा हिँडिरहेका ८ जना पुरुषलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि स्वास्थ्य परीक्षण तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। लागूऔषध दुव्र्यसन नियन्त्रण, प्रयोगकर्ताको पहिचान तथा सुधारमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले अभिभावक, स्थानीयवासी तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै लागूऔषध विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित