काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो एक वर्षमा देशभर प्रेस स्वतन्त्रता हननका १२० वटा घटना अभिलेख गरेको जनाएको छ। काउन्सिलले २०८२ वैशाख १ गतेदेखि २०८२ चैत मसान्तसम्मको अवधिलाई समेटेर सार्वजनिक गरेको प्रतिवेदनमा वागमती प्रदेश सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा देखिएको छ।
प्रतिवेदनअनुसार वागमती प्रदेशमा मात्रै ५७ वटा घटना भएका छन्, जुन कुल घटनाको झण्डै आधा हो। त्यसपछि मधेस प्रदेशमा २७, कोशीमा १०, सुदूरपश्चिममा ९, लुम्बिनीमा ८ र गण्डकीमा ६ वटा घटना अभिलेख गरिएका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम ३ वटा घटना भएका छन्।

काउन्सिलले आफ्नो नियमित अनुगमन तथा प्राप्त उजुरीका आधारमा तयार पारेको तथ्यांकअनुसार पत्रकारहरूमाथि धम्कीका घटना सबैभन्दा बढी छन्। कुल घटनामध्ये ३५ वटा धम्कीसँग सम्बन्धित छन् भने २४ वटा आक्रमणका घटना भएका छन्। त्यस्तै, दुर्व्यवहारका १६, पेशागत असुरक्षाका १५, कब्जा वा अवरोधका ९, गिरफ्तारीका ६ र नीतिगत बन्देजका ३ वटा घटना दर्ता भएका छन्।
प्रतिवेदनमा एक जना पत्रकारको शंकास्पद मृत्यु भएको उल्लेख गरिएको छ भने १० वटा प्रेस स्वतन्त्रता दुरुपयोगका घटना पनि अभिलेख गरिएको छ।
कुल १२० घटनामा १६७ जना पत्रकार पीडित भएका छन्। लैंगिक आधारमा हेर्दा १५७ जना पुरुष र १० जना महिला पत्रकार पीडित भएका छन्। एउटै घटनामा एकभन्दा बढी पत्रकार प्रभावित हुने भएकाले पीडितको संख्या घटनाभन्दा बढी देखिएको काउन्सिलले स्पष्ट पारेको छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रताको संरक्षणका साथै यसको दुरुपयोग रोक्न काउन्सिल निरन्तर सक्रिय रहेको उल्लेख गरिएको







