दिपेश कु शाह रौतहट : रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एक पूर्व महिला वडा सदस्यलाई जबर्जस्ती मानव मलमूत्र खुवाइएको भन्दै गम्भीर घटना सार्वजनिक भएको छ। कटहरिया नगरपालिका–९ निवासी दलित समुदायकी ५५ वर्षीया अंकलियादेवी मुसहरिनमाथि शनिबार साँझ यस्तो अमानवीय व्यवहार गरिएको आरोप लागेको हो।
स्थानीय स्रोतका अनुसार छिमेकी पुकार माझीका छोराको विवाह समारोहमा पर्साबाट सरियतिया (छोरी पक्षका जन्ती) आएका थिए। सोही क्रममा जन्ती आएका करिब १० वर्षीय एक बालकले अचानक बान्ता गरेपछि केही व्यक्तिले त्यसको दोष अंकलियादेवीमाथि लगाएका थिए। उनले जादूटुना गरेर बालकलाई मार्न खोजेको आरोप लगाउँदै १५ देखि २० जनाको समूहले घरमै पुगेर दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ।
पीडितकी छोरी सुमिलादेवी मुसहरिनका अनुसार शनिबार साँझ करिब ७ बजेतिर घरमा आमा–छोरी मात्र रहेका बेला एक समूह एक्कासी घरभित्र प्रवेश गरेको थियो। उनीहरूले अंकलियादेवीको हात, टाउको र शरीर समातेर बियरको बोतलमा घोलेर ल्याएको मानव मलमूत्र जबर्जस्ती खुवाएको आरोप छ।
घटनाको विरोध गर्दा आफूहरूलाई कुटपिटसमेत गरिएको सुमिलादेवीले बताइन्। घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले पीडित महिलाको उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको जनाएको छ।
प्रहरीका अनुसार उद्धार गर्दा पीडित महिला अचेत अवस्थामा थिइन्। उपचारपछि उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ।
घटनापछि आरोपीहरूलाई पक्राउ गर्न प्रहरी टोली पुगेको बेला गाउँका केही महिला तथा पुरुषले प्रहरी टोली र गाडीमाथि आक्रमण प्रयास गरेको पनि प्रहरीले जनाएको छ। त्यसपछि सुरक्षा सतर्कता बढाइएको छ।
पीडित महिलालाई थप सुरक्षाका लागि इलाका प्रहरी कार्यालय गरुडामा राखिएको जनाइएको छ भने संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले घटनालाई गम्भीर रूपमा लिइएको बताए। उनका अनुसार अनुसन्धानका साथै आरोपी पक्राउ गर्न इन्सपेक्टरको कमाण्डमा थप प्रहरी टोली परिचालन गरिएको छ।
डीएसपी आचार्यले यस्ता अमानवीय र कानुनविपरीत कार्यमा संलग्न जोसुकै भए पनि प्रमाणका आधारमा कडा कानुनी कारबाही गरिने स्पष्ट पारे।
स्थानीय तहमा निर्वाचित भइसकेकी एक महिलामाथि जातीय विभेद र अन्धविश्वासको नाममा गरिएको भनिएको यो घटनाले समाजमा अझै विद्यमान कुप्रथा र छुवाछूत मानसिकतालाई उजागर गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ।








