प्रेस स्वतन्त्रता दिवसमा पर्सामा प्रभातफेरी, स्वतन्त्रताको रक्षाका लागि एकजुट हुन अध्यक्ष खनालको आह्वान

 

वीरगंज, २० वैशाख

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले वीरगंजमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम शाखाका अध्यक्ष ओम प्रकाश खनालको अध्यक्षतामा आयोजना गरिएको हो।

कार्यक्रममा शाखाका सचिव बिजय महतो, सह–सचिव एसके चौरसिया,अजय कुमार चौरसिया लगायत महासङ्घका पदाधिकारी तथा पर्सा जिल्लाका सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रभातफेरी वीरगंजको घण्टाघरबाट सुरु भई शहरका विभिन्न मुख्य मार्गहरू परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर समापन गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। उनले संघीय संसद्मा विचाराधीन मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक, सूचना प्रविधि ऐनलगायत सञ्चारसम्बन्धी विभिन्न विधेयकप्रति महासङ्घको गम्भीर चासो रहेको उल्लेख गरे।

उनका अनुसार सञ्चार क्षेत्रको आर्थिक संकट, पत्रकार पलायन, निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन तथा सूचना प्रवाहमा देखिएको अवरोधजस्ता समस्याले पत्रकारिता क्षेत्र झनै संकटग्रस्त बनेको छ।

अध्यक्ष खनालले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि सबै पेसागत संगठन, नागरिक अगुवा र सरोकारवालाहरूबीच ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित