लायन्स संस्थापक मेल्भिन जोन्सको सम्झनामा हिमाली चुचुरो ‘मेल्भिन जोन्स पिक’ नामकरण

 

वीरगंज — विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब्स इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको सम्मानमा नेपाल लायन्सले एक हिमाली चुचुरोलाई ‘मेल्भिन जोन्स पिक’ नाम दिएको छ।

लायन जिम्बा जगम्बु शेर्पाको आयोजनामा सम्पन्न भएको उक्त अभियानमा पर्वतारोही लायन दबाब क्षेत्री शेर्पा र लायन फुर्वा क्षेत्री शेर्पाले ५,६३० मिटर अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरेका थिए। उनीहरूले शिखरमा पुगेर लायन्स अन्तर्राष्ट्रियको झण्डा तथा नेपालको राष्ट्रिय झण्डा फहराउँदै उक्त चुचुरोलाई ‘मेल्भिन जोन्स पिक’ नाम दिएका हुन्।

नेपालका पहिलो अन्तर्राष्ट्रिय निर्देशक लायन ई. संजय खेतानले सामाजिक सञ्जाल फेसबुकमार्फत पर्वतारोही टोली र आयोजकप्रति प्रशंसा व्यक्त गर्दै बधाई दिएका छन्। भूपू अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले पनि सफलताको शुभकामना व्यक्त गरेका छन्।

यस कार्यप्रति देश तथा विदेशबाट व्यापक रूपमा शुभकामना व्यक्त गरिएको छ। विभिन्न लायन्स सदस्य, समाजसेवी तथा समर्थकहरूले सामाजिक सञ्जालमार्फत खुशी र गर्व प्रकट गरेका छन्।

वीरगञ्जका आजीवन लायन सदस्य राधेश्याम खेतानले यस्तो कार्यक्रमप्रति खुशी व्यक्त गर्दै नेपाल लायन्सको योगदान सराहनीय रहेको बताएका छन्।

त्यस्तै, भारतको बिहारबाट लायन्स जिल्लाका पूर्व जिल्ला गभर्नर प्रकाश नन्द, विनोद अग्रवाल, देशबन्धु गुप्ता, नम्रता सिंह लगायतले पनि शुभकामना दिएका छन्। लायन्स क्लब अफ रक्सौलका अध्यक्ष बिमल सर्राफ, सचिव मोहम्मद निजामुद्दीन, कोषाध्यक्ष अमित कुमार तथा अन्य सदस्यहरूले पनि यस्तो संस्थासँग आवद्ध हुन पाउँदा गर्व महसुस भएको बताएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित