वीरगञ्ज भन्सारद्वारा अवैध रूपमा भित्रिएका ई–स्कुटरको विवरण सार्वजनिक, सवारीधनीलाई सम्पर्कमा आउन आग्रह

 

अभिलाष गुप्ता

वीरगञ्ज, १६ वैशाख

वीरगञ्ज भन्सार कार्यालयले अवैध रूपमा नेपाल भित्र्याइएका विद्युतीय सवारी साधन (ई–स्कुटर) सम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागको निर्देशनअनुसार विभिन्न मितिमा नियन्त्रणमा लिइएका ई–स्कुटरहरूको सूची सार्वजनिक गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार भारतबाट आवश्यक भन्सार प्रक्रिया पूरा नगरी तथा वैध कागजातबिनै ल्याइएका विभिन्न कम्पनीका दर्जनौँ ई–स्कुटर नियन्त्रणमा लिइएको हो। जफत गरिएका सवारी साधनहरूमा विभिन्न ब्राण्ड र मोडलका स्कुटर समावेश छन्।

भन्सार कार्यालयले सम्बन्धित सवारीधनी तथा दाबीवालाहरूलाई स्वामित्व प्रमाणित गर्ने कागजातसहित तोकिएको समयभित्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। समयसीमाभित्र सम्पर्कमा नआए प्रचलित भन्सार ऐन तथा अन्य कानुनी व्यवस्थाअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।

सीमावर्ती क्षेत्र हुँदै पछिल्लो समय भन्सार छलि गरी विद्युतीय सवारी भित्र्याउने क्रम बढेपछि नियन्त्रण तथा निगरानी कडा पारिएको भन्सार स्रोतले जनाएको छ। राजस्व चुहावट रोक्न यस्ता अवैध आयातमाथि निरन्तर कारबाही जारी रहने कार्यालयले स्पष्ट पारेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित