जिल्ला प्रहरी एवं ट्राफिक प्रहरी पर्सा द्वारा वीरगंज आईसीपी रोडमा विशेष चेकिङ अभियान ६० सवारी साधन जाँच

 

वीरगंज/१५ वैशाख

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त पहलमा वीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने आईसीपी रोड क्षेत्रमा विशेष सवारी चेकिङ अभियान सञ्चालन गरिएको छ। सीमावर्ती क्षेत्र हुँदै हुने अवैध गतिविधि नियन्त्रण तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले सोमबार साँझ उक्त अभियान सञ्चालन गरिएको हो।

साँझ ४ बजेदेखि ५ बजेसम्म चलेको चेकिङ अभियानमा ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवाल तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतको नेतृत्व रहेको थियो। अभियानमा खटिएको टोलीले आईसीपी रोड हुँदै आवतजावत गर्ने मालवाहक तथा अन्य सवारी साधनलाई रोक्दै आवश्यक कागजातहरूको सूक्ष्म परीक्षण गरेको थियो।

प्रमुख कटवालका अनुसार सवारी साधनको ब्लुबुक, चालक अनुमति पत्र (लाइसेन्स), भन्सारसम्बन्धी कागजात, सवारी दर्ता प्रमाणपत्र तथा अन्य आवश्यक विवरण जाँच गरिएको थियो। अभियानका क्रममा कुल ६० वटा सवारी साधन जाँच गरिएको जानकारी उनले दिए।जाँच गरिएका सवारी साधनमध्ये १२ वटा तेल ट्यांकर, ३५ वटा भारतीय हेभी ट्रक, २ वटा नेपाली ट्रक, ४ वटा ग्यास बुलेट तथा ७ वटा टाटा मो रहेको बताइएको छ।

चेकिङका क्रममा कुनै पनि सवारी साधनमा शंकास्पद वस्तु वा कागजातसम्बन्धी गम्भीर समस्या नदेखिएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले सीमावर्ती नाकाबाट हुने अवैध सवारी सञ्चालन, लागूऔषध ओसारपसार, हातहतियार तस्करी तथा गैरकानुनी सामान ढुवानी नियन्त्रण गर्न निगरानी थप कडा पारिएको बताए। उनले यस्ता विशेष चेकिङ अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए।

वीरगंज आईसीपी क्षेत्र नेपाल–भारत व्यापारिक आवागमनको प्रमुख नाका भएकाले यहाँ सुरक्षा जाँच नियमित रूपमा कडा बनाइँदै आएको छ। स्थानीयवासीले समेत यस्ता अभियानले चोरी तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित