वीरगंज/१२ बैशाख
वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोट्र्स क्लब र पशुपति आदर्श क्लबको सहयोगमा आयोजित उक्त कार्यक्रममा २ महिलासहित कुल ३९ जनाले रगत दान गरेका हुन्।
कार्यक्रमको उद्घाटन पर्सा–२ का सांसद सुशील साह कानु ले स्वयं रक्तदान गरेर गर्नुभएको थियो। कार्यक्रममा सन्तोष कानु, लखनलाल गुप्ता, जितेन्द्र सर्राफ, डा. उमेश कुशवाहा, अमृत नगरकोटी, राजबाबु गुप्ता, रोशन कुमर्मी, श्यामबाबु कलवार, जितेन्द्र कुशवाहा, रामनारायण साह, कन्हैया सर्राफ लगायतले पनि रक्तदान गरेका थिए।
वीरगंज –१० का कार्यवाहक वडाध्यक्ष सन्तोष जैसी को अध्यक्षता तथा सांसद कानुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महत्वपूर्ण सहमति समेत भएको छ। वडावासीलाई आवश्यक पर्दा रक्त सञ्चार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा र वडा नम्बर १० को वडा कार्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार रक्त सञ्चार केन्द्रबाट रगत लिँदा लाग्ने शुल्क वडा कार्यालयले व्यहोर्नेछ। यसबारे जानकारी दिँदै नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका राजन श्रीवास्तव ले वडाबासीलाई सहज रूपमा रगत उपलब्ध गराउने लक्ष्यसहित सहकार्य गरिएको बताउनुभयो।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री विनोद गिरी, रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डे, वडा सदस्यहरू प्रभु महतो, मिश्रादेवी नगरकोटी, प्रमिला देवी, वडा कार्यालयका सचिव पवन प्रधान, घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष कानु, पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष गुप्ता, मनोहर साह, दिलिप साह कानु, राजेश सिंह लगायतको पनि सहभागिता रहेको थियो।
कार्यक्रमका वक्ताहरूले रक्तदान जस्तो मानवीय कार्यले जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।








