वीरगंज / फागुन २१ गते सम्पन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस पर्साले आजदेखि ‘जरा अभियान’ कार्यक्रमको शुभारम्भ गरेको छ। गत निर्वाचनमा चारै संसदीय क्षेत्र गुमाएपछि पार्टीले आत्मसमिक्षा गर्दै यो अभियान सुरु गरेको हो।
नेपाली कांग्रेस पर्साका सचिव तथा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम का अनुसार आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै हरेक गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाका वडाहरूमा यो अभियान सञ्चालन गरिनेछ।
कार्यक्रममा बोल्दै नेताहरूले विगतको निर्वाचनमा भएका कमजोरीहरूलाई जराबाट सच्याउँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए। “हामी कहाँ चुकेका छौं र कहाँ कमजोर भएका छौं भन्ने कुरालाई आत्मसात गरेर सशक्त रूपमा अघि बढ्नुपर्छ,” उनीहरूको भनाइ थियो।
उक्त कार्यक्रममा जिल्ला सभापति तथा पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्री रमेश रिजाल, पूर्वमन्त्री सुरेन्द्र चौधरी, पूर्वमन्त्री अजय चौरसिया लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
नेताहरूले आगामी दिनमा पार्टीलाई थप सुदृढ बनाउँदै जनतामाझ विश्वास पुनःस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।








