वीरगंजका मदरसामा प्रहरीको कडा अनुगमन, दर्ता नभएका संस्थालाई चेतावनी

 

अभिलाष गुप्ता

वीरगंज/१० बैशाख

 

पर्सा प्रहरीले वीरगंज स्थित विभिन्न मदरसाहरूमा चेकजाँच तथा अनुगमनलाई कडा बनाएको छ। पहिलो चरणअन्तर्गत वीरगञ्ज महानगरपालिका–छपकैया क्षेत्रमा रहेका चार वटा मदरसामा बिर्ता वडा प्रहरी कार्यालयको टोलीले स्थलगत निरीक्षण गरेको हो।

बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा गरिएको उक्त अनुगमनका क्रममा मदरसाहरूको प्रशासनिक अवस्था, दर्ता प्रक्रिया, तथा सञ्चालन सम्बन्धी कागजातहरूको जाँच गरिएको थियो। निरीक्षणकै क्रममा एक मदरसा दर्ता बिना सञ्चालनमा रहेको पाइएपछि त्यसलाई यथाशीघ्र कानुनअनुसार दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पछिल्लो समय भएका केही गतिविधिलाई मध्यनजर गर्दै यस्तो अनुगमनलाई तीव्रता दिइएको हो। पर्सा प्रहरी र बिर्ता वडा प्रहरी कार्यालयको संयुक्त टोलीले वीरगञ्जका अन्य मदरसाहरूमा समेत निरन्तर रूपमा अनुगमन तथा चेकजाँच जारी राख्ने जनाएको छ।

प्रहरीले शैक्षिक संस्थाहरूलाई कानुनी दायराभित्र रहेर सञ्चालन गर्न आग्रह गर्दै आवश्यक कागजातहरू अद्यावधिक राख्न समेत सचेत गराएको छ। साथै, सुरक्षा तथा व्यवस्थापनका दृष्टिले कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल जानकारी दिन सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित