इज्तिमामा विदेशी सहभागिता रोक्न विश्व हिन्दू परिषद् नेपालको माग,बारा र पर्सा प्रशासनलाई ध्यानाकर्षण पत्र                                      

 

वीरगंज/ ०९ बैशाख

विश्व हिन्दू परिषद् नेपालले बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक भेला ‘इज्तिमा’ मा विदेशी नागरिकहरूको सहभागिताले राष्ट्रिय सुरक्षामा चुनौती थप्ने भन्दै त्यसमा कडाइ गर्न माग गरेको छ।

परिषद्ले बुधबार जिल्ला प्रशासन कार्यालय बारा र पर्सामा छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै, विशेषगरी तेस्रो मुलुकका नागरिकहरूको अवैध प्रवेश र सहभागिता रोक्न प्रशासनको ध्यानाकर्षण गराएको हो। बारामा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई पत्र बुझाइएको छ।

आगामी वैशाख ११ देखि १४ गतेसम्म बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. २४, हरपुरमा आयोजना हुने इज्तिमामा पाकिस्तान, बंगलादेश लगायतका इस्लामिक राष्ट्रहरूबाट सहभागीहरू आउने तयारी भइरहेको सूचना आएको भन्दै परिषद्ले आपत्ति जनाएको छ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “धार्मिक भेलाको आवरणमा छिमेकी राष्ट्र र अन्य तेस्रो मुलुकबाट अवैध रूपमा विदेशीहरू नेपाल भित्रिने र उनीहरू यहाँ लुकिछिपी बस्ने जोखिम छ। यस्ता विदेशी नागरिकहरूको सहभागिताले देशको सुरक्षा संयन्त्रलाई कमजोर पार्न सक्छ।”

परिषद्ले विगतका अनुभवहरूलाई स्मरण गर्दै इज्तिमामा आउने विदेशीहरू सबै फिर्ता नभएको र उनीहरूले शरणार्थीका रूपमा वा अन्य बहानामा नेपालमै आश्रय लिइरहेको आशंका व्यक्त गरेको छ। विशेषगरी बंगलादेश र म्यानमारबाट आएका रोहिङ्ग्याहरू यस्ता कार्यक्रमको फाइदा उठाउँदै नेपाल प्रवेश गर्न सक्ने सम्भावना प्रति प्रशासन सचेत हुनुपर्ने परिषद्को ठहर छ।

नेपाल–भारत सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै परिषद्ले अवैध विदेशी घुसपैठ रोक्न र साम्प्रदायिक सद्भाव खलबलिन नदिन माग गरेको छ। “मित्रराष्ट्रका अवैध बासिन्दालाई नेपाली भूमि प्रयोग गर्न नदिने परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको हितमा विदेशी सहभागीहरूको कडाइका साथ छानबिन र नियन्त्रण गरिनुपर्छ,” पत्रमा उल्लेख गरिएको छ।

यस कार्यक्रममा सुरक्षा निकाय र सञ्चारकर्मीको सहज पहुँच नहुने गरेको भन्दै परिषद्ले भित्र हुने गतिविधि र विदेशीहरूको अवस्थाबारे प्रशासनले पारदर्शी रूपमा निगरानी गर्नुपर्ने सुझाव समेत दिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित